रिहापछि बोले रवि लामिछाने, न्यायको लडाइँ बाँकी
प्रकाशित मिति
२०८२ पुष ४ गते, शुक्रबार १०:०३
४ पुस,२०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धको मुद्दामा न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको बताए।
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ। मैले अझ धेरै लड्नु छ। मैले लड्न बाँकी छ भनेको मेरो व्यक्तिगत विषयका लागि होइन, तपाईंहरू र यो देशको न्यायका लागि हो,’ उनले भने, ‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरिएको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्न बाँकी नै छ।’

उनले आफू बोल्ने समय आउने उल्लेख गर्दै सबै विषयको हिसाबकिताब मिलाएपछि विस्तृत रूपमा धारणा राख्ने बताए। ‘आजका लागि म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ,’ उनले थपे।

काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा आउने तयारी भए पनि खराब मौसमका कारण लामिछाने चितवनसम्म हवाई यात्रा गरेर त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे भैरहवा कारागार पुगेका थिए।
लामिछाने कारागार आइपुग्दा तथा रिहा भएपछि रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले हुटिङ गर्दै खुशियाली मनाएका थिए। रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार केही सर्त पूरा गरी बैंक जमानतका कागजात बुझाएपछि उनलाई रिहा गरिएको हो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छाड्न आदेश दिएको थियो।
बिगो बापत दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्।




प्रतिकृया