• १४ असोज २०८३, बुधबार
  • ५ः२२ बिहान

नेपालले उपहारस्वरूप दिएका दुई हात्ती कतार प्रस्थान

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०५:४५

२ पुष,२०८२ काठमाडौं— नेपाल सरकारले उपहारस्वरूप कतारलाई दिएका दुई हात्ती बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार प्रस्थान गरेका छन्।कतार एयरवेजको उडान नम्बर क्यूआर–८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत साँझ ५ बजेपछि ६ वर्षे भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षे पोथी हात्ती रुद्रकली कतारतर्फ उडेका हुन्।

National Life

दुवै हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो। विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार आज बिहान मौसम खराब भएपछि जहाज भारतको कोलकाता डाइभर्ट गरिएको थियो। भैरहवाबाट उडान भरेको करिब ४ घण्टामा जहाज कतार पुग्ने उनले बताए।

हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन्। उनीहरू केही समय त्यहाँ बसेर हात्तीहरूको रेखदेख गर्ने तथा कतारका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसारसम्बन्धी तालिम दिएपछि मात्र नेपाल फर्किने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप पठाइएका यी हात्ती २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा गरिएको प्रतिबद्धताअनुसार हस्तान्तरण गरिएको हो।

२०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीको कोखबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो। खगेन्द्रमली पोस्टमै जन्मिएको भएकाले उसको नाम खगेन्द्रप्रसाद राखिएको हो। उसकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीका रूपमा प्रयोग गरिँदै आएको छ। खगेन्द्रप्रसादले केन्द्रमा आउने पर्यटकहरूलाई फूलको माला लगाएर आशीर्वाद दिने कामसमेत गर्दै आएको थियो।

त्यस्तै, रुद्रकली हात्ती २०७५ सालमा हात्ती प्रजनन केन्द्रमै पूजाकलीको कोखबाट जन्मिएकी हुन्। जन्मेको तीन महिनामै आमाको मृत्यु भएपछि माउतेहरूको रेखदेखमा रुद्रकली हुर्किएकी थिइन्। निकुञ्जका अनुसार यी दुवै हात्तीका बाबु जंगली हात्ती ‘रोनाल्डो’ हुन्।

उल्लेखनीय छ, २०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर सौराहामा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यसबेला नेपालले भारतलाई प्रत्युत्तरस्वरूप चार वटा एकसिंगे गैँडा उपहार दिएको थियो।

प्रतिकृया