विद्युतीय भोटिङमार्फत एमाले प्रतिनिधिले नेतृत्व चयन गर्दै
प्रकाशित मिति
२०८२ पुष १ गते, मंगलवार ०४:०९
१ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । भृकुटीमण्डपमा निर्माण गरिएको निर्वाचन केन्द्रमा ती मेसिनहरू जडान गरिसकिएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्रै प्रयोग गर्ने तयारी गरिएको हो । बाँकी २० मध्ये १० वटा नमूना अभ्यासका लागि र १० वटा अतिरिक्त (रिजर्भ) मेसिनका रूपमा राखिएको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले जानकारी दिए ।
डा. सुब्बाका अनुसार एक जना मतदाताले मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा करिब २ हजार ४ सय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको भए पनि प्राविधिक तयारी नसकिएकाले अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । प्राविधिक प्रक्रिया मिलाउने काम जारी रहेकाले राति ८ बजेपछि मात्रै मतदान सुरु हुने सम्भावना रहेको रिमालले बताएका छन् ।
उनका अनुसार हाल उम्मेदवारहरूको नाम मिलाउने, फोटो कोडिङ गर्ने लगायतका प्राविधिक काम भइरहेको छ ।








प्रतिकृया