• २० असोज २०८३, मंगलबार
  • ५ः३३ बिहान

फर्जी नागरिकता र गाँजा प्रकरण: तेन्जिन दावा अदालतमा

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ०४:३०

मंसिर २२, २०८२ काठमाडौं— जेनजी आन्दोलनलाई उक्साएको आरोपमा पक्राउ परेका टीओबी समूहका सदस्य तेन्जिन दावाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। करिब तीन महिनासम्म गरिएको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयले दर्ता प्रक्रिया अगाडि बढाएको हो।

National Life

सरकारी वकिल कार्यालयका अनुसार तेन्जिन विरुद्ध लागुऔषध कसुर र लिखत कीर्तेसम्बन्धी विभिन्न मुद्दा दायर गरिएको छ। प्रहरीले गरेको अनुसन्धानमा उनका कोठाबाट गाँजा बरामद भएपछि लागुऔषधको मुद्दा दर्ता गरिएको हो।

त्यसैगरी, उनीसँग फेला परेका नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र फर्जी प्रमाणित भएपछि ती सबै कीर्तेसम्बन्धी मुद्दा थपिएको प्रहरीको दाबी छ। अनुसन्धानअनुसार उनले गलत विवरण पेश गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए, जसमा बाबुको नाम ‘कृष्णबहादुर लामा’ उल्लेख गरे पनि ती व्यक्तिले उनलाई नचिन्ने बताएका छन्। त्यसकै आधारमा बनेका राहदानी र राष्ट्रिय परिचयपत्र पनि फर्जी ठहरिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तेन्जिनका विरुद्ध दायर मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ। बयान प्रक्रिया सकिएपछि दुवै पक्षको बहस हुनेछ, र त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटी/तारेखमा रिहा गर्ने निर्णय गर्नेछ।

यसअघि पनि उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको थियो। त्यतिबेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ हजार ५ सय रुपैयाँ धरौटी तोकेको थियो। तर लागुऔषध र कीर्तेसम्बन्धी थप अनुसन्धान चलिरहेकाले उनलाई प्रहरी हिरासतबाट छोडिएको थिएन।

यता, टीओबी समूह सम्बन्धी अतिरिक्त अनुसन्धानमा यो समूहले दाबी गरिएझैं ‘फ्री तिब्बत’सँग कुनै प्रत्यक्ष सम्बन्ध नभएको प्रहरीको निष्कर्ष छ। समूहका सदस्यहरू तिब्बती मूलका नभएको, र टीओबी टीसर्ट लगाउने व्यक्ति पनि तेन्जिन एक्लै फेला परेको अनुसन्धानले देखाएको छ। गत भदौ २३ र २४ मा बुलेट बाइक चलाउँदै भिडमा देखिएको समूह पनि बाइकर ग्रुपकै सदस्य भएको खुलेको छ।

प्रतिकृया