• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

दैनिक ५ घण्टा बन्द गरिर्दै नागढुङ्गा नौबिसे सडक

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार १०:५२

मंसिर २२, २०८२ काठमाडौं— सडक निर्माणमा अपेक्षित प्रगति नहुँदा सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा आंशिक रूपमा यातायात बन्द गर्ने निर्णय गरेको छ। मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक १०:३० बजेबाट ३:३० बजेसम्म पाँच घण्टा सडक बन्द रहने जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रूपमा जानकारी दिएका छन्।

National Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिन अघि सरोकारवालासँग छलफल गर्दै निर्माण कार्य गतिशील बनाउन यस्तो व्यवस्था आवश्यक भएको जनाएको थियो। निर्माण व्यवसायीका अनुसार सवारीसाधनको निरन्तर आवागमनका कारण उपकरण र ढुवानीका साधन सहज रूपमा परिचालन गर्न नसक्दा कार्यमा ढिलाइ भइरहेका थिए।

त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा–नौबिसे सडकखण्ड हाल कालोपत्र तथा स्तरोन्नतिको अन्तिम चरणमा छ। विशेषगरी नागढुङ्गा–पिप्लामोड र धादिङको गल्छी–गजुरीखण्ड साँघुरा र जोखिमयुक्त भएकाले एकैपटक ठूलो मेसिनरी प्रयोग गर्न आवश्यक रहेको आयोजनाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सडक बन्द रहने समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे सडक वैकल्पिक रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।

काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछन् भने मुग्लिङबाट काठमाडौं तर्फ आउने सवारी साधन खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी तथा मासटारमा रोकिने जनाइएको छ।

एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शववाहन जस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई ट्राफिक प्रहरीले विशेष सहजीकरण गर्नेछ।

बन्द अवधि सकिएपछि अर्थात् अपराह्न ३:३० बजेपछि मात्रै रोकिएका सबै सवारी साधन छाडिने सूचनामा उल्लेख गरिएको छ।

प्रतिकृया