पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा को–कोमाथि पर्यो आरोप ?
प्रकाशित मिति
२०८२ मंसिर २१ गते, आईतवार ०३:४९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच पूर्वमन्त्रीसहित कनिष्ठदेखि वरिष्ठ तहका ५६ जना पदाधिकारीविरुद्ध मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रियामा रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ। सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री र सुरेश आचार्य पनि मुद्दामा समावेश छन्।
त्यस्तै, सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य–सचिव मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्यलाई पनि विपक्षी बनाइएको छ।
मुद्दामा तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई समेत विपक्षीको रूपमा समावेश गरिएको छ। साथै तत्कालीन उपमहानिर्देशक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्का, उपमहानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, व्यवस्थापक मुरारी भण्डारी र उपनिर्देशक सुवर्णराज उपाध्यायलगायतका अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको स्रोतले जनाएको छ।
अख्तियारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अनियमिततामा संलग्न ठहरिएका ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको हो।








प्रतिकृया