प्रधानमन्त्री कार्कीविरुद्ध दायर अवहेलना मुद्दाको सुनुवाइ आज
प्रकाशित मिति
२०८२ मंसिर ७ गते, आईतवार १०:५५
मंसिर ७, २०८२ काठमाडौं – प्रधानमन्त्री शुशिला कार्कीविरुद्ध दायर अवहेलना मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्चले मंसिर ३ गते मुद्दा दर्ता गरेको थियो। राजदूत फिर्ता गर्न नपाउने अन्तरिम आदेश उल्लंघन गरिएको आरोपमा कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो।
कात्तिक १६ मा सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर आदेश जारी भएपछ्यै कात्तिक १७ मा परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई २० गतेभित्र हाजिर हुनेगरी पत्राचार गरेपछि कात्तिक १८ मा अवहेलना मुद्दा पेश भएको थियो। उक्त मुद्दा मंसिर ३ मा दर्ता भई आज पहिलो सुनुवाइ तोकिएको हो। अधिवक्ताहरू अनन्तराज लुइंटेल, प्रतिभा उप्रेती, विशाल थापा र अधिवक्ता प्रेमराज सिलवालले छुट्टाछुट्टै निवेदन दायर गरेका छन्।
निवेदनमा प्रधानमन्त्री कार्कीकै प्रत्यक्ष संलग्नतामा अन्तरिम आदेश उल्लंघन भएको दाबी गर्दै ‘हदैसम्मको सजाय’ माग गरिएको छ। न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले दिएको आदेश विपरीत परराष्ट्र मन्त्रालयले चलानी नम्बर ३४२५ मार्फत एघार देशका राजदूतलाई फिर्ता हुन निर्देशन दिएको देखिएको छ।
आदेशको पालना गराउन माग गर्दै दायर निवेदन दर्तामा समेत ढिलासुस्ती हुँदा सरकारी निकायहरू आदेश पालना प्रति उदासिन देखिएको भन्दै न्यायिक क्षेत्र असन्तुष्ट बनेको छ। असोज ३० गतेको निर्णयविरुद्ध परेको रिटपछि सरकारले नयाँ राजदूत नियुक्त नगर्ने नीति लिएको भए पनि आदेश विपरित राजदूत फिर्ता गर्ने प्रक्रियामा सक्रिय देखिनु सरकारप्रति थप आलोचना भएको छ। चुनावमा ध्यान दिनुपर्ने समयमा सरकारले राजदूत फिर्ता र नियुक्तिको प्रक्रियामा उल्झिनुले निर्वाचन तयारी कमजोर भएको टिप्पणी भइरहेका छन्।







प्रतिकृया