स्वास्थ्य बीमा बोर्डले अस्पतालको बक्यौता रकम गर्यो भुक्तानी
प्रकाशित मिति
२०८२ कार्तिक २० गते, बिहीबार ०३:३०
कात्तिक २०, २०८२ काठमाडौं— स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारबापत अस्पतालमा बाँकी रहेको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले अस्पतालबाट प्राप्त कागजातहरूको पुनरावलोकन गरी चालु आर्थिक वर्ष २०८१ चैतसम्मको बक्यौता रकम भुक्तानी गरेको हो।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेका रकम केही दिनअघि मात्र अस्पतालहरूलाई भुक्तानी गरिएको जानकारी दिए। “धेरै वर्षदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त कागजातहरूको पुनरावलोकन गरी गत असोजसम्मको बक्यौता रकम निस्काएका थियौँ,” उनले भने, “अहिले गत चैतसम्मको रकम अस्पताललाई दिएका छौँ।”

उनका अनुसार आगामी कात्तिक महिनाभित्र वैशाखदेखि असोजसम्मको बाँकी बक्यौता रकम पनि भुक्तानी गरिने तयारी भइरहेको छ। त्यसका लागि अर्थ मन्त्रालयसँग करिब ११ अर्ब रुपैयाँको माग गरिएको डा. काफ्लेले बताए।

स्वास्थ्य बीमा बोर्डले बीमितहरूबाट वार्षिक करिब तीन खर्ब ७२ करोड रुपैयाँ सङ्कलन गर्दै आएको छ। बोर्डको वार्षिक खर्च करिब २६ अर्ब रुपैयाँ रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा पाँच सदस्यीय परिवारका लागि रु ३ हजार ५०० तिरेर विभिन्न स्वास्थ्य सेवा सुविधा लिन सकिन्छ। हाल देशभर ९४ लाख बीमित व्यक्ति उक्त कार्यक्रममा आबद्ध छन्।




प्रतिकृया