पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव, देशभर बदली र हिमपातको सम्भावना
प्रकाशित मिति
२०८२ कार्तिक ११ गते, मंगलवार ०९:३६
कात्तिक ११, २०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। यसको प्रभावका कारण देशभर साधारणतया बदली रहेको र कतिपय स्थानमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा पनि साधारणतया बदली रहने अनुमान गरिएको छ, भने तराई भूभागमा आंशिक बदली रहनेछ।
विभागले जारी गरेको पछिल्लो पूर्वानुमानअनुसार, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ। साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा बदली रहनेछ भने तराईमा आंशिक बदलीको अवस्था रहन्छ। गण्डकीका केही स्थान र अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहने विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही भागमा भारी वर्षा र उच्च भेगमा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ। साथै, सम्भावित जोखिम न्यूनिकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज सूर्योदय बिहान ६ बजेर १२ मिनेटमा भएको र सूर्यास्त साँझ ५ बजेर २३ मिनेटमा हुने विभागले जनाएको छ।






प्रतिकृया