• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०९:४०

असोज २१, २०८२ काठमाडौं- नेपाल विद्युत् प्राधिकरण (नेपाले)ले हाल दैनिक औसतमा १,००० मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको जनाएको छ। देशभित्रको माग पूरा गरेपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको हो।

National Life

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म मात्र करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ। नेपालले भारतमा रहेको ऊर्जा बजार भारतीय ऊर्जा विनिमयको डे–अहेड र रियल टाइम मार्केट प्रणालीमार्फत प्रतिस्पर्धात्मक दरमा विद्युत् बेचिरहेको छ। साथै, हरियाणा र बिहार राज्यसँग द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत पनि विद्युत् आपूर्ति भइरहेको छ।

त्यसैगरी, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ। भारतसँगको व्यापार भारतीय रुपैयाँमा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुवै विदेशी मुद्रा आम्दानी गरिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल प्राधिकरणलाई भारत र बंगलादेश गरी जम्मा १,१६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भइसकेको छ। नेपालले पहिलो पटक २०७८ साल कात्तिक १६ गते भारतमा औपचारिक रूपमा विद्युत् निर्यातको अनुमति पाएको थियो।

प्राधिकरणका अनुसार, जलविद्युत् उत्पादन क्षमतामा निरन्तर वृद्धि भइरहेकाले आगामी वर्षहरूमा विद्युत् निर्यातको परिमाण झनै बढ्ने अपेक्षा गरिएको छ। विद्युत् निर्यातले देशको विदेशी मुद्रा आर्जन र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न ठूलो टेवा पुर्‍याउने प्राधिकरणको भनाइ छ।

प्रतिकृया