ओलीको खुलासा: “५ मिनेट ढिला भएको भए मलाई मार्ने थिए”
प्रकाशित मिति
२०८२ आश्विन ११ गते, शनिबार ०९:४५
असोज ११, २०८२ काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको आन्दोलनका क्रममा आफूलाई मार्ने योजनासहित प्रदर्शनकारीहरू अघि बढेको दाबी गरेका छन्। उनले ५ मिनेट मात्र ढिला भएको भए ज्यान जोगाउन नसकिने बताएका छन्।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघसँगको भेटमा ओलीले भने, “५ मिनेट ढिला भएको भए मलाई मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनायो, मलाई मार्ने नै थिए।”
२४ गते दिउँसो करिब २:३० बजे सैनिक हेलिकप्टरमार्फत ओली, उनकी पत्नी र मुख्य सल्लाहकार विष्णु रिमाललाई बालुवाटारबाट शिवपुरीस्थित सैनिक ब्यारेकमा लगिएको थियो। प्रधानमन्त्रीले राजीनामा नगरे सेनाले रेस्क्यु गर्न नसक्ने बताएपछि, उनले दिउँसो २ बजे राजीनामा दिएका थिए।
उता, उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई भने बालुवाटारमै छोडिएको थियो। उनीहरू पछि प्रहरीको सहयोगमा सुरक्षित स्थान पुगेका थिए। २३ भदौमा आन्दोलनका क्रममा १९ युवाको ज्यान गएपछि, भोलिपल्ट बिहानैदेखि राजधानीमा प्रदर्शन चर्किएको थियो। बिहान १० बजे प्रमुख सुरक्षा निकायका प्रमुखहरू (प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान विभाग प्रमुख) गृह मन्त्रालयमा बैठक गरी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
उनीहरूले परिस्थिती असामान्य बन्दै गएको भन्दै राजनीतिक निकासका लागि प्रधानमन्त्रीलाई राजीनामाको सुझाव दिएका थिए। तर ओली भने राजनीतिक निकास भन्नु राजीनामा हो? भनेर आक्रोशित बनेको विवरण स्रोतहरूले जनाएका छन्।
प्रधानमन्त्री ओलीले सुरुमा राजीनामा दिन अस्वीकार गरे पनि, सेनाले बिना राजीनामा रेस्क्यु असम्भव बताएपछि अन्ततः उनले २ बजे राजीनामा दिएका थिए। बालुवाटारबाट सुरक्षितरूपमा बाहिरिने एक मात्र विकल्प सेनाको हेलिकप्टरमार्फत भएको र त्यही प्रयोग गरिएको थियो।






प्रतिकृया