पानी पर्न थालेपछि रोकियो तुइन खोलाको पहिरो पन्छाउने काम
प्रकाशित मिति
२०८२ आश्विन ८ गते, बुधबार ०३:०४
असोज ८, २०८२ काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला क्षेत्रमा खसेको ठूलो पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।पानी पर्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाउने कार्य रोकिएको हो ।
मंगलबार अपरान्ह भीर भासिएर सडकमा ठूला ढुंगा र माटो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। बुधबार बिहान साढे ६ बजेदेखि पहिरो पन्छाउने काम शुरु गरिएको भए पनि फेरि वर्षा सुरु भएपछि काम रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडक डिभिजन, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समन्वयमा चार वटा डोजर/मेसिन प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ। तर, भीरबाट लगातार पहिरो झरिरहेकाले काममा कठिनाइ आएको छ।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं, पोखरा, र नारायणगढ आवागमन गर्ने सवारी साधनहरू सडकमा नै अलपत्र परेका छन्। विशेषगरी दशैंको चहलपहल सुरु भइसकेको अवस्थामा मुख्य राजमार्ग बन्द हुँदा यात्रुहरूले ठूलो सास्ती भोग्नु परेको छ।
प्रहरीले तुइन खोलामा पहिरो अझै खस्ने सम्भावना रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ। यद्यपि, वैकल्पिक मार्गहरू पनि साँघुरा र जाम हुने सम्भावनाले यात्रुहरू थप समस्यामा परिरहेका छन्।




प्रतिकृया