हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँको अनिश्चितकालीन आन्दोलन घोषणा
प्रकाशित मिति
२०८२ आश्विन ७ गते, मंगलवार ०३:१९
असोज ७, २०८२ काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले यस आन्दोलनको सुरुआत छठ पर्वपछि हुने बताएका छन्।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले हालको जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनको नेतृत्व आफैंले गर्ने घोषणा गरे।
उनले भने, “हामी दशैं, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात, बौद्धसहितको हिन्दु अधिराज्य पुनः स्थापना गर्न आन्दोलन सुरु गर्छौं। यो आन्दोलन पुनर्स्थापना नभएसम्म रोकिन्न।”
प्रसाईँले वर्तमान शासनप्रणालीलाई अस्वीकार गर्दै २०४७ सालको संविधान पुनर्स्थापनाका लागि पनि संघर्ष गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर होइन, सडकबाट आन्दोलनको अगुवाइ गर्ने दाबी गरे। “अब कोठाभित्र फेसबुक स्ट्याटस लेख्ने आन्दोलन होइन, प्रत्यक्ष सडकमा उत्रिने आन्दोलन हुन्छ। हामी नेतृत्व गर्छौं,” उनले जोड दिए।
दुर्गा प्रसाईँ पछिल्ला केही वर्षयता हिन्दु राष्ट्रको पक्षमा खुलेर लाग्ने सामाजिक अभियन्तामध्ये एक हुन्। उनी बेला–बेलामा विवादास्पद अभिव्यक्ति र आन्दोलनको शैलीका कारण चर्चामा रहने गरेका छन्। अबको आन्दोलन कति व्यापक र संगठित हुनेछ भन्नेबारे भने उनले विस्तृत खाका प्रस्तुत गरेका छैनन्।








प्रतिकृया