जवाङ खोलामा पहिरो : पृथ्वी राजमार्ग अवरुद्ध, आज खुल्ने सम्भावना कम
प्रकाशित मिति
२०८२ आश्विन ७ गते, मंगलवार ०९:४४
असोज ७, २०८२ काठमाडौं– दशैं मनाउन गाउँ फर्किरहेका यात्रुहरूको यात्रा झन् कष्टकर बनेको छ, जब धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा खसेको ठूलो सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध बनाएको छ।
चितवन र धादिङको सिमानामा पर्ने बाँदरे मोड नजिक सोमबार राति साढे १० बजेतिर पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो। प्रारम्भिक प्रयासपछि राति ११ बजेतिर एकतर्फी रुपमा सडक खुलाइएको थियो, तर त्यसको केही समयमै पुनः पहिरो खसेर बाटो पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान २:३० बजेदेखि पहिरो हटाउने काम थालिएको थियो। तर बिहान ५ बजेतिर झन् ठूलो पहिरो खसेपछि स्थिति थप जटिल भएको हो। लगातार पहिरो खसिरहेकोले अहिले हटाउने काम रोकिएको छ। जबसम्म पहिरो खस्ने क्रम रोकिँदैन, तबसम्म सुरक्षाको कारण देखाउँदै मेसिनहरूलाई पूर्ण रूपमा परिचालन गर्न सकिने अवस्था छैन।
हाल तीनवटा साना मेसिन घटनास्थलमा परिचालित छन् भने यात्रुहरूलाई सुरक्षित स्थानमा रहन र लेन अनुशासन पालना गर्न आग्रह गरिएको छ। रातिदेखि नै सडक बन्द भएकाले सयौं यात्रुहरू, सवारी चालक र सहचालकहरू बाटोमा अलपत्र परेका छन्। दशैं मनाउन घर फर्किरहेकाहरूलाई पहिरोले यात्रा कष्टकर बनाएको छ।






प्रतिकृया