काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी
प्रकाशित मिति
२०८२ भाद्र २७ गते, शुक्रबार ०८:५६
भदौ २७,२०८२ काठमाडौँ – नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ । अब आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यु लागू हुने छ । साथै, सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचनाअनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र निषेधाज्ञा लागू हुनेछ । बिहान ११ बजेसम्म भने निषेधाज्ञा हटाइएको छ ।
जेन–जी आन्दोलनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षालाई ध्यानमा राखी जारी गरिएका कडा आदेश क्रमशः खुकुलो बनाइँदै गएका हुन् । कर्फ्यु र निषेधाज्ञा आंशिक रूपमा हटाइएपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ । अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा सवारीसाधनको चाप बढी देखिएको छ ।
भदौ २३ गते सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेन–जी युवाहरूको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो । प्रारम्भमा देशभर कर्फ्यु जारी गरिएकोमा अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ । उपत्यका बाहिरका केही जिल्लामा भने स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा कायम राखेका छन् ।
सरल भाषामा, निषेधाज्ञा भिडभाड र समूहगत गतिविधि रोक्न जारी गरिने आदेश हो भने कर्फ्यु भने आवतजावत नै पूर्ण रूपमा निषेध गर्ने कडा व्यवस्था हो ।








प्रतिकृया