प्रधानमन्त्री ओली : सामाजिक सञ्जालको प्रतिबन्ध तत्काल हटाउन सकिँदैन
प्रकाशित मिति
२०८२ भाद्र २३ गते, सोमबार ०९:२२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू तत्काल खोल्न नसकिने अडान लिएका छन्। सोमबार मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारलाई प्रतिबन्ध हटाउन आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाललाई अस्थायी रूपमा खोल्ने प्रस्ताव राखेका थिए। तर प्रधानमन्त्री ओलीले कम्पनीहरूले खुलेआम दर्ता गर्न नचाहेका कारण नियमनबिनै खोल्न नसकिने बताए।
बैठकमा गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकले पनि सामाजिक सञ्जाल खोल्नुपर्ने धारणा राखे तर प्रधानमन्त्री ओलीले मान्न अस्वीकार गरेका छन्। बैठकपछि प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहेको स्रोतले जनाएको छ।








प्रतिकृया