• ११ असोज २०८३, आइतबार
  • ३ः१८ राती

कहिले देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको लागि सिधा चार्टर उडान सुरु हुने ?

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०९:४१

भदौ १९,२०८२ काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान सुरु गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल्स (युटीटी)ले आगामी असोज १२ (सेप्टेम्बर २८) देखि चार वटा चार्टर उडान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

National Life

युटीटीका सञ्चालक परासर प्रसाईंका अनुसार असोज १२, १६, २० र २४ गते भुटान एयरलायन्सको १२६ सिट क्षमताको विमानले उडान गर्ने तालिका तय भइसकेको छ। कम्पनीले यससंगै चार रात पाँच दिनको ट्राभल प्याकेज पनि सार्वजनिक गरेको छ।

पोखराबाट पहिलो पटक पारोसम्म हुने यस उडानलाई पर्यटन व्यवसायीहरूले ऐतिहासिक सुरुवातको रूपमा लिएका छन्। पोखरा महानगर प्रमुख धनराज आचार्यले यस कदमले पोखरा र भुटान दुवै देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। “पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने यो ठूलो अवसर हो,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पनि चार्टर उडानले व्यवसायी र पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताए। उनले तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्नुपर्नेमा जोड दिए।

यसैबीच सरकारले पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षक छुट सुविधा प्रदान गरेको छ। सरकारले २०८१ साउन २८ देखि लागू गरेको योजनाअनुसार यात्री सेवा शुल्क, पार्किङ, ल्यान्डिङ तथा न्याभिगेसन शुल्कमा छुट दिइएको छ। नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ सेवामा पनि ७५ प्रतिशतसम्म छुट गरिएको छ।

हाल भुटान एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार पटक उडान गर्दै आएको छ। पोखरामा भने यसअघि चीनको छेन्दु र तिब्बतको ल्हासासम्म चार्टर र नियमित उडान भएको अनुभव रहेको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रु २२ अर्ब लागतमा बनेको हो। वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको यो विमानस्थलले अब अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रु पठाउने र ल्याउने सम्भावना बढाएको छ।

प्रतिकृया