बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लाग्यो
प्रकाशित मिति
२०८२ भाद्र ८ गते, आईतवार ०१:१७
भदौ ८,२०८२ काठमाडौं – बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै यो रकम खिच्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज (भदौ ८ गते) दिउँसो ३ बजे बोलकबोल प्रणालीमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गरिनेछ। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्ने छन्।
निक्षेप संकलनको अवधि २१ दिनको हुनेछ र यसमा ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमा तोकिनेछ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। संकलित निक्षेप भदौ २९ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ।
यस निक्षेप संकलनको उद्देश्य प्रणालीमा रहेका अतिरिक्त तरलता व्यवस्थापन गर्नु हो। पछिल्लो समय व्याजदरमा चाप कम रहेकाले बैंकहरूमा ठूलो परिमाणमा तरलता थुप्रिएको छ, जसले मुद्रास्फीति र वित्तीय स्थायित्वमा असर पार्न सक्ने देखिएको छ।








प्रतिकृया