एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संवैधानिक भावनाविपरीत छ: पूर्वप्रधानमन्त्री खनाल
प्रकाशित मिति
२०८२ भाद्र ८ गते, आईतवार १२:२७
भदौ ८,२०८२ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी सम्झौता नेपालको दीर्घकालीन हितमा नपर्ने स्पष्ट धारणा राखे। उनका अनुसार, यो सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीति कार्यान्वयन गर्ने माध्यमको रूपमा प्रयोग भइरहेको आशंका उब्जिएको छ।
खनालले एमसीसी सम्झौता संसदमा गम्भीर छलफल विना असामान्य ढंगबाट पारित भएको भन्दै लोकतान्त्रिक प्रक्रियाको उल्लङ्घन भएको आरोप लगाए। उनका अनुसार, यसले चीन र भारतसँगको नेपालको भू–राजनीतिक सन्तुलनमा गम्भीर असर पुर्याएको छ।
पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूलाई एमसीसी प्रकरणमा दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाए। उनले भने, “यही दोहोरो भूमिका र अस्पष्टताका कारण विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दुःख पाएका छन्।”
खनालले एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत् व्यापार गर्न बाध्य बनाउने प्रावधान रहेको उल्लेख गर्दै यसले भारतीय एकाधिकारलाई थप बलियो बनाउने खतरा रहेको चेतावनी दिए।
सम्झौताका विभिन्न पक्ष अझै अस्पष्ट र विवादित रहेको भन्दै खनालले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तामाथि आघात पुग्ने कुनै पनि प्रावधान स्वीकार्य नहुने धारणा राखे। उनले एमसीसीबारे पुनर्विचार आवश्यक रहेको औंल्याए।








प्रतिकृया