पूर्वराष्ट्रपति भण्डारीको नयाँ बानेश्वर सम्पर्क कार्यालय आज उद्घाटन
प्रकाशित मिति
२०८२ भाद्र ५ गते, बिहीबार ०९:०५
भदौ ५,२०८२ काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) काठमाडौंको नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। लाखेचौर मार्ग, थापागाउँमा रहेको कार्यालयलाई ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका रुपमा पनि उपयोग गरिनेछ।
छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्मजयन्तीका अवसरमा समिति गठन गरेको हो। समितिकी संरक्षक समेत रहेकी भण्डारीले दिउँसो २ बजे कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक डोरमणि पौडेलले जानकारी दिए।
यस कार्यालयको ऐतिहासिक पृष्ठभूमि पनि छ। यही घरबाट २०४८ सालको निर्वाचन अभियानका क्रममा दिवंगत नेता मदन भण्डारीले चुनावी गतिविधि सञ्चालन गरेका थिए। मदनको निधनपछि मनमोहन अधिकारी, प्रदीप नेपाल र विद्यादेवी भण्डारीले समेत यही घरलाई चुनावी कार्यालयका रुपमा उपयोग गरेका थिए।
आजको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीसँगै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।








प्रतिकृया