• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

एमसीए नेपालले १५ करोड ४५ लाख डलरको प्रसारण लाइन निर्माण सम्झौता गर्दै

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०१:३५

श्रावण २९,२०८२ काठमाडौं — मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले  १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) बराबरको विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेको छ। सम्झौता बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माण पक्षबीच हस्ताक्षर गरिएको हो।

National Life

संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ एमसीसी नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ। यसअन्तर्गत रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माण सम्झौता एञ्जेलिक स्किपर जेभी (संयुक्त उपक्रम) र न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन वाइबा सलासर जेभी (संयुक्त उपक्रम) सँग भएको हो।

सम्झौतापत्र अनुसार दुवै प्रसारण लाइन निर्माणको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ। परियोजनामा १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन कार्य हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि र अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए।

एमसीए नेपालका सञ्चालक समितिका अध्यक्ष एवं अर्थ सचिव घनश्याम उपाध्यायले भने, “प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि अमेरिकी सरकारको आर्थिक सहयोग निकै महत्वपूर्ण छ। यसले नेपालको ऊर्जा क्षेत्र विकासमा ठूलो योगदान दिनेछ।”

नेपालस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मीक्सले भने, “यो सम्झौता नेपालको दीर्घकालीन विकासमा अमेरिकी सरकारको स्थायी प्रतिबद्धताको प्रतीक हो। यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण मात्र होइन, नेपालको आर्थिक पूर्वाधार पनि सुदृढ पार्दैछौं।”

एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले पनि अमेरिकाको निरन्तर सहयोगको सराहना गर्दै राष्ट्रिय गौरव आयोजना सफल बनाउन साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

प्रतिकृया