रूपन्देही कारागारमा राखिएका रविलाई मानवअधिकार आयोगले गर्यो अनुगमन, न्यूनतम सुविधा नपाइएको भेटियो
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार ०२:०५
श्रावण २६,२०८२ रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको रूपन्देही कारागारमा मानवअधिकार आयोगको टोलीले अनुगमन गरेको छ। आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले आज गरेको अनुगमनमा उनलाई न्यूनतम सुविधा नदिइएको पाइएको छ।
आयोग सदस्य थापाले कारागारको क्षमता २५० रहेको भए पनि ७०० भन्दा बढी कैदी राखिँदा कैदीहरूको मानवअधिकार स्थिति दयनीय बनेको बताइन्। “रवि लामिछानेलाई छुट्टै कोठामा राखिएको छ, तर झ्यालमा कपडाले बारिएको छ जसले सर्पबाट सुरक्षा गर्ने भनिएको छ। हामीले त्यसलाई तत्काल खोल्न भनेका छौँ,” उनले भनिन्।
थापाले ठूलो कोठाभित्र बाथरुम र ट्वाइलेट भएपनि सुरक्षाको कारणले बाहिर घुमफिर गर्न दिइएको नपाइएको र जेल प्रशासनले कैदीको सुरक्षा सुनिश्चित गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको बताइन्।
रवि लामिछानेले आफूलाई ‘राजनीतिक बन्दी’ भएको दाबी गर्दै सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलता भएकाले जेल सार्न अदालतबाट अनुमति लिए पनि सरकारले रोक लगाएको आयोगले जनाएको छ।
“दुई फ्यानको भरमा राखिएको कोठा मानवअधिकार प्रत्याभूत गर्न सकिँदैन,” थापाले भनिन्। साथै, अन्य कैदीहरूको अवस्था अझ दयनीय रहेको र मानवअधिकारको दृष्टिले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताइन्।







प्रतिकृया