रसुवामा बाढी–पहिरोबाट झण्डै एक अर्ब रुपैयाँको बीमा दावी(विवरणसहित)
प्रकाशित मिति
२०८२ श्रावण २४ गते, शनिबार १०:५०
श्रावण २४,२०८२काठमाडौं– गत असार २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा र बाढी–पहिरोका कारण झण्डै एक अर्ब रुपैयाँको बीमा दावी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन २२ गतेसम्म सञ्चालनमा रहेका ११ निर्जीवन बीमा कम्पनीमा ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँको प्रारम्भिक बीमा दावी दर्ता भएको हो।
कुल ७८ वटा दावीमध्ये सबैभन्दा धेरै रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ, जसमा दुई दावीमार्फत ५५ करोड रुपैयाँ दावी भएको छ। शिखर इन्स्योरेन्समा १५ दावीबाट १६ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ दावीबाट आठ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्समा छ दावीबाट छ करोड ८४ लाख रुपैयाँको दावी परेको छ।
अन्य कम्पनीहरूमा नेको इन्स्योरेन्स (पाँच दावी–पाँच करोड ६७ लाख), सगरमाथा लुम्बिनी इन्स्योरेन्स (दुई दावी–दुई करोड ६५ लाख), युनाइटेड अजोड इन्स्योरेन्स (तीन दावी–९१ लाख), आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स (१० दावी–७६ लाख ७० हजार), एनएलजी इन्स्योरेन्स (छ दावी–४७ लाख), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (सात दावी–३१ लाख) र प्रभु इन्स्योरेन्स (२८ लाख) मा दावी दर्ता भएको छ।
बीमा शाखागत विवरण अनुसार सम्पत्ति बीमामा ६ दावीबाट ६१ करोड ४७ लाख रुपैयाँ, सामुन्द्रिक बीमामा नौ दावीबाट २२ करोड चार लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा पाँच दावीबाट पाँच करोड ९५ लाख, मोटर बीमा (सार्वजनिक) मा ४२ दावीबाट तीन करोड ५५ लाख र मोटर बीमा (निजी) मा १६ दावीबाट पाँच करोड ५८ लाख रुपैयाँको दावी परेको छ।
बीमा प्राधिकरणले सबै कम्पनीलाई दावी प्रक्रियालाई छिटो सम्पन्न गरी भुक्तानी चाँडै गर्न निर्देशन दिएको छ।








प्रतिकृया