• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

बागमती प्रदेशका मुख्यमन्त्री लामाको आज राजीनामा, इन्द्र बानियाँ बन्ने नयाँ मुख्यमन्त्री

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०९:४४

श्रावण १८, २०८२ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (आइतबार) पदबाट राजीनामा दिने निश्चित भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा १४ साउनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामामाथि राजीनाको दबाब बढिरहेको थियो।

National Life

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग लामालगायत बानियाँले संयुक्त छलफल गरेका थिए। छलफलपछि संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले लामाले राजीनामा दिन तयार भएको जानकारी दिए।

चित्रकारका अनुसार लामाले शपथका लागि नाम सिफारिस गरेका तीन मन्त्रीलाई शपथ गराउनु पर्ने र सरकार सञ्चालनमा आफू पक्षसँग सहकार्य गरिनुपर्ने दुई प्रमुख शर्तमा सहमति भएपछि राजीनाको मार्ग खुलेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री लामाले १४ साउनमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्रीमा नियुक्त गरेका थिए। तर, नेकपा एमालेको असहमति र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्य अवस्थाका कारण मन्त्रीहरूको शपथ स्थगित हुँदै आएको थियो।

प्रदेश प्रमुख देवकोटा आज हेटौंडा फर्किएमा लामाले प्रत्यक्ष रूपमा राजीनामा बुझाउने तयारी गरिएको छ। उनी नआएमा मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दर्ता गरिने चित्रकारले बताए।

लामाको राजीनापछि नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। सत्तासाझेदार नेकपा एमालेसँगको अघिल्लो सहमति अनुसार बानियाँले अबको आठ महिना सरकारको नेतृत्व गर्नेछन्। त्यसपछि आगामी फागुनमा एमालेलाई सत्ता हस्तान्तरण गरिनेछ।

प्रतिकृया