पतञ्जली जग्गा प्रकरणमा पूर्वसचिव छविराज पन्त धरौटीमा रिहा
प्रकाशित मिति
२०८२ श्रावण १३ गते, मंगलवार ०५:३४
श्रावण १३ ,२०८२ काठमाडौं । विशेष अदालतले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा मुछिएका तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग ५ लाख धरौटी माग्ने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा दिलाउने प्रक्रियामा संलग्न रहेको भन्दै पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पन्तले विशेष अदालतमा दिएको बयानमा आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा प्रस्ताव पेस गरेको उल्लेख गरेका छन्। यसअघि आयोगमा उनले भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र अन्य कर्मचारीबाट पनि दबाब आएको बताएका थिए।
यो मुद्दामा विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख, कानुन अधिकृत कलानिधि शर्मालाई २५ हजार धरौटीमा रिहा गरिसकेको छ।
पतञ्जली प्रकरणमा ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गरिएको अभियोगमा ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यो पन्तविरुद्ध अख्तियारले दायर गरेको दोस्रो भ्रष्टाचार मुद्दा हो।




प्रतिकृया