बागमती प्रदेशको मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत
प्रकाशित मिति
२०८२ श्रावण १३ गते, मंगलवार ०२:२१
श्रावण १३ ,२०८२ काठमाडौं । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको विश्वास गुमाएका छन्। मंगलबार सम्पन्न मत विभाजनमा लामाको विपक्षमा २२ मत परेपछि उनी संसदीय दलको नेताबाट पदमुक्त भएका हुन्।
पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेका अनुसार लामाको पक्षमा १५ मत मात्रै परेको थियो। कांग्रेस संसदीय दलभित्र लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन्। उनको स्थानमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको नाम नयाँ दल नेता तथा सम्भावित मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ।
२१ जना सांसदको समर्थनमा पहिले नै अविश्वास प्रस्ताव दर्ता गरिए पनि पछिल्लो राजनीतिक समीकरणमा बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन्। यो अवस्था आउँदा मुख्यमन्त्री लामामाथि राजीनामाका लागि नैतिक दबाब थप चर्किएको छ।
अब कांग्रेस नेतृत्वको बागमती सरकारमा नेतृत्व परिवर्तनकाे सम्भावना प्रबल बनेको छ। संसदीय दलबाट विश्वास गुमाइसकेका लामाले मुख्यमन्त्री पद पनि चाँडै त्याग्नुपर्ने दवाव बढेको देखिएको छ।








प्रतिकृया