जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
प्रकाशित मिति
२०८२ असार ३२ गते, बुधबार ०५:३६
असार ३२,२०८२ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज (बुधबार) बसेको जसपा संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्दै सरकारसँगको समर्थन फिर्ता लिएको हो।
जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, यसअघि कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न निर्देशन दिएको थियो। सोही निर्णयलाई संसदीय दलले अनुमोदन गर्दै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।

जसपाको निष्कर्षमा प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार “पूर्ण रूपमा असफल” भएको उल्लेख गरिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई एक वर्षसम्म दिएको समर्थन बेकार भएको धारणा राख्दै आएका छन्। संविधान संशोधन, मधेस अधिकार र राजनीतिक सहमतिको एजेण्डा उपेक्षित भएकाले समर्थन फिर्ता लिनुपरेको उनको भनाइ छ।

यस निर्णयसँगै सरकारको सत्तासन्तुलनमा प्रभाव पर्न सक्ने आँकलन गरिएको छ। अब जसपाको भावी रणनीति र अन्य विपक्षी दलहरूसँगको सम्भावित सहकार्यलाई लिएर पनि चासो बढेको छ।




प्रतिकृया