रसुवाको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री ओलीसहित उच्चस्तरीय टोली जाँदै
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार ०२:३२
असार २४, २०८२ काठमाडौं । रसुवामा गएको सोमबार रातिको बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय टोली प्रभावित क्षेत्रतर्फ जान लागेको छ।
प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि भ्रमणमा सहभागी हुनेछन्। बालुवाटार स्रोतका अनुसार दुईवटा हेलिकोप्टरबाट प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री ओली बालुवाटारबाट हेलिकोप्टरमार्फत उड्नेछन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्को हेलिकोप्टरमा जाने कार्यक्रम रहेको छ।
यस भ्रमणमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुनेछन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा, र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल समेत बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणमा सहभागी हुने बताइएको छ।
सरकारले अविलम्ब उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न स्थलगत जानकारी संकलन गर्न उच्चस्तरीय टोली परिचालन गरेको हो।








प्रतिकृया