‘कुलिङ अफ पिरियड’ प्रकरण : सभामुखले छानबिन समिति गठनका लागि दलहरूसँग गरे छलफल
प्रकाशित मिति
२०८२ असार १९ गते, बिहीबार ०५:४६
असार १९, २०८२ काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८०’ मा उल्लेखित ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडछाडको विषयमा संसदीय छानबिन समिति गठन गर्ने प्रस्तावमा प्रमुख दलहरूबीच छलफल भएको छ।
बिहीबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए। छलफलमा उपसभामुख इन्दिरा रानाको पनि उपस्थिति थियो।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० अनुसार संसदीय छानबिन समिति गठनको प्रस्ताव राख्दै समितिका कार्यक्षेत्र, समयसीमा र सदस्यहरूको नाम प्रस्ताव गर्न आग्रह गरेका थिए। प्रमुख दलहरूले पनि विधेयकमा भएको संशयास्पद तोडमोडबारे छानबिन गर्न संसदीय समिति नै उपयुक्त हुने सुझाव दिएका छन्।
तीनवटै प्रमुख दलका नेताहरूले आ–आफ्ना दलभित्र छलफल गरी सभामुखलाई आवश्यक जानकारी दिने बताएका छन्। उनीहरूले यो विषय व्यवस्थापिकासँग सम्बन्धित भएकाले सरकारको धारणा आवश्यक नरहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको आगामी बैठक असार २३ गतेका लागि तय भएको छ। बैठक अगावै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा संसदीय छानबिन समिति गठनबारे प्रस्ताव अघि बढाउने सहमति भएको छ। यसैबीच, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबारको समितिको बैठकका निर्णयहरू मौखिक रूपमा जानकारी गराए पनि संघीय संसद् सचिवालयले औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।








प्रतिकृया