ऊर्जा प्रवाहको तयारी: पाँच जलविद्युत् कम्पनीसँग आरपिजीसिएलको ग्रीड जडान सम्झौता
प्रकाशित मिति
२०८२ असार १८ गते, बुधबार १०:४९
असार १८, २०८२ काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड जडानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार आयोजित कार्यक्रममा सो सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतापत्रमा आरपिजीसिएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर सागर श्रेष्ठले कम्पनीको तर्फबाट हस्ताक्षर गरेका थिए। उता, एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालिका प्रतिनिधिहरूले आ–आफ्नो कम्पनीको तर्फबाट हस्ताक्षर गरे।

मन्त्री खड्काले यस्तो सहकार्यबाट ऊर्जा क्षेत्रमा नेपालले अगाडि सारेको रणनीति कार्यान्वयनमा गति प्राप्त हुने विश्वास व्यक्त गरे। “ऊर्जा क्षेत्रको प्रवर्द्धन र लगानी प्रणालीमा सुधार ल्याउने हो भने नेपालको समृद्धि सम्भव छ,” उनले भने, “यस्ता सहकार्यहरूले त्यो दिशा तय गर्न सहयोग पुर्याउनेछन्।”

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले पनि यस्ता समझदारीहरूले सरकारको दीर्घकालीन ऊर्जा लक्ष्य हासिल गर्न सहयोग पुर्याउने धारणा राखे। उनीहरूले सन् २०३५ सम्मको ऊर्जा लक्ष्य प्राप्त गर्न प्रसारण प्रणालीको सुदृढीकरणलाई प्रमुख प्राथमिकता दिइएको बताए।
सम्झौतामा समावेश आयोजनाहरू विभिन्न क्षमताका जलविद्युत् परियोजनाहरू हुन्। एससी पावर कम्पनीद्वारा प्रवर्द्धित कालिकोटस्थित तिला–१ जलविद्युत् आयोजना ४४० मेगावाट क्षमताको छ। त्यसैगरी, बझाङमा निर्माण हुने ५४ मेगावाटको महाकाली–सेती अर्धजलाशययुक्त आयोजना सुर्मा सरोबर हाइड्रोपावरको परियोजना हो।
बझाङकै मालुमेला सेतीनदी पिकिङ आयोजना ७२ मेगावाट क्षमताको छ, जसलाई माता मालिका इनर्जी मल्टिपलले प्रवर्द्धन गर्दैछ। उता ताप्लेजुङमा निर्माण हुने ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ आयोजना सूर्य होल्डिङले प्रवर्द्धन गरेको हो भने गोरखास्थित ९.४३ मेगावाटको सुपर दरौदी आयोजना हिमजल हाइड्रोपावर कम्पनीको परियोजना हो।
सरकारले निजी क्षेत्रसँगको सहकार्यद्वारा जलविद्युत् उत्पादन र प्रसारणमा तीव्रता दिने उद्देश्यले यस्ता सम्झौताहरूलाई प्रोत्साहित गर्दै आएको छ।




प्रतिकृया