दोषी ठहरिए कारबाही भोग्छु – खतिवडा
प्रकाशित मिति
२०८२ असार १७ गते, मंगलवार ०३:०७
असार १७, २०८२ काठमाडौं । संघीय निजामती सेवा विधेयकमा समितिबाट सर्वसम्मत पारित नभएको एक दफा थपिएको खुलेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले, “हामीले पास गरेको विधेयकको ठीक मुनि एउटा दफा थपिएर संसदमा पुगेको फेला पर्यौं। यो कसको गल्तीबाट भएको हो, कानुनी दायरामा ल्याउनुपर्छ,” भन्दै आफूमाथि पनि छानबिन होस् र दोषी ठहरिए कारबाही स्वीकार गर्ने बताए।

यस प्रकरणमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खतिवडाको राजीनामा माग गरिसकेको छ भने नेकपा माओवादी केन्द्रले पनि छानबिनको माग गर्दै संसदीय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ। खतिवडाले संसदमा पेस हुँदा समितिबाट पास नभएको नयाँ दफा समावेश हुनु “संसदमाथिको ठूलो प्रहार” भएको भन्दै यो जस्तो गल्ती विधायन प्रक्रियामा कहिल्यै नहुने दाबी गरे।

उनले छानबिन प्रक्रिया सुरु नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने स्पष्ट पारेका छन्। यसै कारण मंगलबारको समिति बैठक स्थगित गरिएको पनि उनले जानकारी दिए।




प्रतिकृया