“टेक एण्ड पे” हटेपछि इप्पानको आन्दोलन स्थगन, ऊर्जा लगानीमा सक्रिय हुने घोषणा
प्रकाशित मिति
२०८२ असार १२ गते, बिहीबार ०३:२५
असार १२ , २०८२ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गगरेको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय गरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत इप्पानले आन्दोलन स्थगनको घोषणा गर्दै अब ऊर्जा विकासका लक्ष्यप्रति केन्द्रित हुने स्पष्ट पारेको हो ।
विद्युत ऐन, २०४९ तथा नियमावली २०५० मार्फत निजी क्षेत्रलाई लगानी खुला गरिए पनि २०५५ सालमा विद्युत प्राधिकरणको बोर्डले पीपीए दर तय गरेपछि मात्रै निजी क्षेत्रको लगानी उल्लेखनीय रूपमा बढेको थियो । हाल देशको कुल विद्युत उत्पादनको ८० प्रतिशतभन्दा बढी र निर्माणाधीन आयोजनामा ९० प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको छ । यही लगानीकै कारण नेपाल लोडसेडिङमुक्त बनेको हो ।
तर २०८२/८३ को बजेटमा रन अफ रिभर आयोजनाको पीपीए ‘टेक एण्ड पे’ आधारमा गर्ने भनिएपछि निजी क्षेत्र चिन्तित भएको थियो । यस घोषणाले करिब १७,१७ मेगावाट बराबरका आयोजनाको भविष्य अनिश्चित बनाएको भन्दै इप्पानले तीव्र विरोध गर्दै आएको थियो । हालसम्म यसमा १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्रीसहित सरोकारवाला निकायहरूसँग भेटघाट, ज्ञापनपत्र तथा ‘नो टेक एण्ड पे’ अभियान सञ्चालन गरेको थियो । अन्ततः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले असार १० गते संसदमा बजेट संशोधनको घोषणा गर्दै ‘टेक एण्ड पे’ हटाइएको र वित्तीय जोखिम मूल्यांकनको आधारमा मात्र पीपीए हुने स्पष्ट गरेका थिए ।
इप्पानले अब सरकारसँग सहकार्य गर्दै विद्युत व्यापारको अनुमति दिन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न र लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेको छ। इप्पानले ऊर्जा लक्ष्य हासिल गर्न निजी क्षेत्र सरकारको भरपर्दो साझेदार हुने प्रतिबद्धता पनि दोहोर्याएको छ।






प्रतिकृया