तोकिएको समयमा बजेट ल्याउनबाट चुक्यो महानगर, बालेनलाई समितिको ध्यानाकर्षण
प्रकाशित मिति
२०८२ असार ११ गते, बुधबार १२:५४
असार ११ , २०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको म्यादभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न सकेको छैन । असार १० भित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि राजधानी महानगर समयमै बजेट ल्याउन चुकेको हो।
कानुनतः निर्धारित मितिमा बजेट नआउनुमा प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टकराव मुख्य कारण भएको बताइएको छ। बालेनले कार्यपालिका बैठक नै नबोलाएपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक मंगलबार बसेको हो।
बैठकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार बजेट कार्यपालिकाबाट स्वीकृत भई नगरसभामा असार १० भित्र पेश हुनुपर्ने कानुनी व्यवस्था स्मरण गराउँदै उक्त म्याद नपुग्नु गम्भीर विषय भएको ठहर गरिएको छ। त्यस्तै, समितिले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका संयोजकसमेत रहेका मेयर बालेन शाहलाई समन्वय र सहजीकरणका लागि ध्यानाकर्षण गराएको छ।
देशभर अधिकांश स्थानीय तहहरूले समयमै बजेट ल्याइसकेका बेला काठमाडौं महानगरको ढिलाइप्रति प्रश्न उठ्न थालेको छ। राजधानीमै कानुनी म्याद उल्लंघन हुनु र आन्तरिक व्यवस्थापनमै समस्या देखिनु गम्भीर चुनौतीको रूपमा लिइएको छ








प्रतिकृया