सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम : ७० करोडका परियोजनाहरू सञ्चालनमा
प्रकाशित मिति
२०८२ जेष्ठ २८ गते, बुधबार ०९:०२
भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर परिसरमा वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडाले हालैका दिनमा सञ्चालन गरेका विकास निर्माण कार्यबारे जानकारी दिँदै हाल वडा क्षेत्रमा करिब ७० करोड रुपैयाँ बराबरका परियोजनाहरू सञ्चालनमा रहेको उल्लेख गरे । उनले सेवाप्रवाह, राजस्व व्यवस्थापन र पछिल्लो वर्ष सम्पन्न योजनाहरूको विवरण प्रस्तुत गरे । साथै, धार्मिक, सांस्कृतिक र कृषिप्रधान सम्भावना बोकेको डोलेश्वरधाम क्षेत्र समेटिएको वडा नम्बर ८ लाई शान्त, हरियालीपूर्ण र ऐतिहासिक रुपमा विकसित गर्ने योजनाबारे पनि कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, अन्जना नेपाली, तथा वडा सचिव प्रतिभा लामिछानेको उपस्थिति थियो । कार्यक्रममा उठेका विविध प्रश्नहरूको उत्तर वडा अध्यक्ष बस्नेत र नगरपालिका इञ्जिनियर जनक न्यौपानेले दिएका थिए ।

कार्यक्रमको प्रारम्भमा पत्रकार दिवस गुरागाईंले सार्वजनिक सुनुवाइको महत्व, प्रक्रिया र यसको अपेक्षित उपलब्धिबारे मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । समापनमा अध्यक्ष आचार्यले वडालाई विभिन्न सुझाव र सल्लाहहरू लिखित रुपमा हस्तान्तरण गरेका थिए ।




प्रतिकृया