गृह मन्त्रालयको स्पष्टीकरण: भ्रम फैलाउने समाचारप्रति आपत्ति
प्रकाशित मिति
२०८२ जेष्ठ १० गते, शनिबार ०७:५०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमप्रति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले ती समाचारहरू भ्रामक, कपोलकल्पित र आधारहीन भएको स्पष्टिकरण दिएको छ।
शनिबार जारी विज्ञप्तिमा मन्त्रालयले आफू कुनै गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न नरहेको र भविष्यमा पनि संलग्न नहुने दाबी गरेको छ। मन्त्रालयले मिडिया र सर्वसाधारणलाई सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशित गर्न आग्रहसमेत गरेको छ।
शान्ति, सुरक्षा र सुशासनमा गृह प्रशासन निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्रालयले अनियमितता र अपराधप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नीतिगत तथा संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी मुद्दामा छानबिन भइरहेको जानकारी दिँदै, मन्त्रालयले आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।







प्रतिकृया