• ३ असोज २०८३, शनिबार
  • १२ः१८ दिउँसो

भारत-पाकिस्तान तनावले आईपीएल अन्योलमा, आक्रमणको चेतावनीपछि बिचैमा रोकियो पञ्जाब र दिल्लीको खेल

प्रकाशित मिति

२०८२ बैशाख २६ गते, शुक्रबार १०:२६

वैशाख २६, २०८२ काठमाडौँ: भारत र पाकिस्तानबीच सीमामा बढेको तनावका कारण धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) मैदानमा बिहीबार राति भइरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको आईपीएल खेल रद्द गरिएको छ।

National Life

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सामाजिक सञ्जालमार्फत खेल रद्द भएको पुष्टि गरेको छ। खेलाडी र सहयोगी कर्मचारीलाई विशेष रेलमार्फत धर्मशालाबाट बाहिर निकालियो। सीमामा तनाव बढेपछि भारतको उत्तर-पश्चिम क्षेत्रका एयरपोर्टहरू पनि बन्द गरिएको बताइएको छ।

धर्मशाला जम्मूबाट करिब २०० किलोमिटर मात्र टाढा रहेकाले सुरक्षा संवेदनशीलता बढेको हो। केही घण्टाअघि जम्मूमा विस्फोट भएको खबर पनि आएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै मैदानका सबै फ्लडलाइटहरू बन्द गरिएका थिए र सम्पूर्ण दर्शकहरूलाई बाहिर निकालिएको थियो। प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार, जम्मू नजिकका क्षेत्रहरूमा हवाई आक्रमणको चेतावनी जारी भएपछि खेल रद्द गर्नुपरेको थियो। मैदानबाट बाहिर निस्कने क्रममा दर्शकहरूले पाकिस्तानविरुद्ध नाराबाजी गरेका थिए।

यसैबीच, बीसीसीआईले आईपीएलका बाँकी खेलहरूको आयोजनाबारे छलफल गर्न आपत्कालीन अनलाइन बैठक बोलाएको छ। प्राप्त जानकारी अनुसार, आईपीएल हुने वा नहुने भन्ने विषयमा आज (शुक्रबार) निर्णय लिइनेछ।

खेल स्थगित हुनुअघि पञ्जाब किंग्सले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। वर्षाका कारण निर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला टस भएको खेलमा पञ्जाबका ओपनर प्रियांश आर्या र प्रभसिमरन सिंहले शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित रहेका थिए भने प्रियांश आर्या ७० रन बनाएर आउट भएका थिए।

प्रतिकृया