भूमिसम्बन्धी अध्यादेशबाट ब्याक भयो सरकार, नियमित विधेयकका रूपमा अघि बढाइने
प्रकाशित मिति
२०८१ चैत्र १३ गते, बुधबार ०१:२३
चैत्र १३, २०८१ काठमाडौँ: भूमिसम्बन्धी अध्यादेशबाट सरकार पछि हटेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले भूमिसम्बन्धी अध्यादेशलाई अघि नबढाउने निष्कर्षसहित नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको जसपा नेपालका नेता राजकिशोर यादवले जानकारी दिए । ‘अब भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अघि बढ्छ । हामीसँँग पहिले भएको सहमति अनुसार अघि सरकार बढ्ने छ,’ उनले भने ।

राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपाल भूमि अध्यादेशको विपक्षमा उभिएपछि अध्यादेश अघि बढाउन सरकार अप्ठ्यारोमा परेको थियो ।

सरकारले २९ पुसमा भूमिसम्बन्धी अध्यादेशसहित पाँचवटा अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले अन्य चार अध्यादेश त्यही दिन जारी गरे पनि भूमिसम्बन्धी अध्यादेश भने दुई दिन रोकेका थिए । राष्ट्रपति पौडेलले २ माघमा मात्रै भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए ।
भूमिसम्बन्धीबाहेक अन्य अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत भएर अघि बढेका छन् । जसपा नेपाल विपक्षमा उभिएपछि राष्ट्रियसभाबाट पास नहुने स्थिति बनेपछि सरकारले भूमिसम्बन्धी अध्यादेशबाहेकका अध्यादेशलाई मात्रै सदनमा पेस गरेको थियो ।




प्रतिकृया