सापटी दिएको पैसा फिर्ता माग्दा गोली हानेर हत्या
प्रकाशित मिति
२०८१ फाल्गुन १८ गते, आईतवार ०२:५९
फाल्गुण १८, २०८१ काठमाडौँ: बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । डीएसपी मिश्रका अनुसार चौसिलाकै ४० वर्षीय कर्णबहादुर विष्टले भरुवा बन्दुकले गोली प्रहार गर्दा सुरेन्द्र गम्भीर घाइते भएका थिए । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

सुरेन्द्र जिप चालक थिए । कर्ण बहादुर र सुरेन्द्र नातेदार हुन् । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी ८ बजेतिर जिप पार्किङ गरेर होटेलमा साथीहरुसँग खाना खाँदै गरेको समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानी हत्या गरेका हुन् । प्रहरीका अनुसार ५/७ फिटको दूरीबाट गोली हानिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन्दले कर्णबहादुरबाट ४० हजार रूपैयाँ पैसा लिन बाँकी रहेछ । त्यही विषयमा शनिबार साँझ पनि झगडा भएको थियो । झगडाको क्रममा सुरेन्द्रले कर्णबहादुर दुई झापड हानेका थिए । झगडा गाउँलेहरूले छुटाएका थिए ।
प्रहरीका अनुसार सुरेन्द्रलाई गोली प्रहार गरि हत्या गर्ने कर्णबहादुरविरूद्ध यसअघि चोरी शिकारीको मुद्दा पनि थियो । उक्त मुद्दा हालसालै मात्र टुंगिएको थियो ।




प्रतिकृया