• ५ साउन २०८३, मंगलबार
  • १०:५० बिहान

विपद् प्राधिकरणको सिइओ नियुक्तिमा विज्ञता आवश्यक: सरोकारवालाको माग

प्रकाशित मिति

२०८१ माघ २८ गते, सोमबार १०:५६

माघ २८, २०८१ काठमाडौँ: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) नियुक्तिका लागि आगामी बुधबार अन्तर्वार्ता हुने भएको छ। नियुक्ति प्रक्रियाको अन्तिम चरणमा पुगेका पाँच जना उम्मेदवारको बुधबार बिहान ८ बजे गृह मन्त्रालयमा अन्तर्वार्ता तय गरिएको छ।

छनोटमा परेका उम्मेदवारहरूमा दिनेश प्रसाद भट्ट (बैतडी), धर्मराज उप्रेती (डडेल्धुरा), बसन्तराज अधिकारी (कास्की), मन्दिप सुवेदी (रोल्पा), र सुमनकुमार कर्ण (मोरङ) छन्। यिनमध्ये भट्ट गृहमन्त्री रमेश लेखकका भान्जा भएको र उनी नेपाली काँग्रेसका महासमिति सदस्य समेत भएकाले राजनीतिक हस्तक्षेपको सम्भावनाबारे केही व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन्। जबकि, उक्त पदका लागि कुनै राजनीतिक दलको सदस्यता नरहेको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

Kamana Sewa

विपद् व्यवस्थापनको जिम्मेवारी प्राविधिक विज्ञता र अन्तर्राष्ट्रिय समन्वय क्षमतायुक्त व्यक्तिलाई दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। उनीहरूका अनुसार, २०७२ को भूकम्पपछि पुनर्निर्माण निकायमा राजनीतिक हस्तक्षेपका कारण धेरै प्रभावित परिवार अझै जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन्।

Classic Tech Desktop

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक विज्ञ सदस्यले विगतका अनुभवबाट सिकेर विपद् प्राधिकरणमा राजनीति नगर्न आग्रह गरेका छन्। उनले नाम नखुलाउने सर्तमा भने, “विगतमा कांग्रेस र एमालेको राजनीतिकरणका कारण पुनर्निर्माण प्रभावकारी हुन सकेन। अब पनि त्यस्तो गरिएमा विपद् व्यवस्थापनमा सरकार गम्भीर छैन भन्ने पुष्टि हुन्छ।”

अर्का एक पूर्व सचिवले भने, “विपद् प्राधिकरणलाई सरकारले पर्याप्त अधिकार र स्रोतसाधन दिनु आवश्यक छ। जीवनरक्षासँग सम्बन्धित यस्तो निकायलाई सामान्य सरकारी कार्यालयजस्तो नबनाई, विषय विज्ञ र अनुभवी नेतृत्व दिनुपर्छ। यसो नगरिएमा प्राधिकरणको अस्तित्वको औचित्य नै समाप्त हुन्छ।”

विशेषज्ञहरूका अनुसार, प्राधिकरणले विकास साझेदार संस्थाहरूसँग समन्वय गरेर काम गर्ने भएकाले अन्तर्राष्ट्रिय संघसंस्थासँग राम्रो समन्वय गर्न सक्ने योग्य व्यक्तिलाई सिइओ बनाउनुपर्छ।

प्रतिकृया