• ४ साउन २०८३, सोमबार
  • ७:२८ बेलुका

पुटिनले बधाई दिएपछि ट्रम्पले भने– म वार्ता गर्न तयार छु

प्रकाशित मिति

२०८१ कार्तिक २३ गते, शुक्रबार ०१:५८

कार्तिक २३ , २०८१ काठमाडौँ: अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । “मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,” ट्रम्पले बिहीबार एनबीसी न्यूजसँग भने ।

डोनाल्ड ट्रम्पले पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन् । तर, उनले वार्ताको सम्भावनालाई अस्वीकार गरेनन् ।

Kamana Sewa

दोस्रोपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् ।

Classic Tech Desktop

ट्रम्पले आफू र बाइडेनबीच छिट्टै सँगै डिनर गर्ने सहमति भएको बताएका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढावा दिन रुसले हस्तक्षेप गरेको आरोप लगाइएको थियो । तर, रुसले उक्त आरोप अस्वीकार गरेको थियो ।

अमेरिकी विशेष सल्लाहकार रोबर्ट मुलरले २०१६ मा ट्रम्प अभियान र रूस बीचको साँठगाँठको आरोपको अनुसन्धान गरेका थिए । तर, तीन वर्षपछि प्रकाशित रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको जनाएका थिए ।

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा विजयी भएको दुई दिनपछि रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिएका थिए ।

समाचार एजेन्सीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका थिए ।

पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।”

पुटिनले ट्रम्पलाई साहसी व्यक्तिको रूपमा वर्णन गर्दै उनी ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा सबै पक्षबाट उत्पीडित भएको बताए । पुटिनले युक्रेन युद्ध अन्त्य गर्न सहयोग गर्ने ट्रम्पको दाबीमा पनि ध्यान दिनुपर्ने बताए ।

आफ्नो चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले यदि आफू राष्ट्रपतिमा विजयी भए युक्रेन युद्ध अन्त्य गर्न सक्ने दाबी पटकपटक गरेका थिए ।

आफ्नो सम्बोधनमा पुटिनले जुलाईमा डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको पनि उल्लेख गरेका थिए । पुटिनका अनुसार त्यसबेला ट्रम्पले साहसी व्यक्तिको जस्तो व्यवहार गरेका थिए ।

प्रतिकृया