• २१ असोज २०८३, बुधबार
  • ७ः१५ बिहान

टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दर्ता

प्रकाशित मिति

२०८१ आश्विन ७ गते, सोमबार ०४:०५

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को पनि मुद्दा दर्ता भएको छ । किर्ते कागजातको आधारमा कर चुक्ता प्रमाणपत्र तयार गरेको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जिल्ला अदालत काठमाडौंमा लिखत कसुरमा मुद्दा दर्ता गरेको हो । पौडेलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

National Life

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको क्रममा अख्तियारले पौडेलको घरमा फेला परेको पेनड्राइभमा कर चुक्ता प्रमाणपत्रको किर्ते प्रमाण फेला पारेको थियो । अनुसन्धानले उक्त प्रमाणपत्रहरू सरकारी अभिलेखमा नदेखिएको अख्तियारले जनाएको छ । पौडेलको नाममा जारी भएको करचुक्ता प्रमाण पत्र आन्तरिक राजस्व कार्यालय पुतलीसडकको अभिलेखमा नदेखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरीको अनुसन्धान गर्ने क्रममा पौडेल बस्दै आएको काठमाडौंको शान्तिनगरस्थित घरबाट गत वर्षको माघ १० गते विभिन्न डिजिटल उपकरण बरामद गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी पौडेलसमेत प्रतिवादी भएको सार्वजनिक सम्पत्तिको हानी नोक्सानीगरी भ्रष्टाचार गरेको मुद्दामा निजलाई ९ वर्ष कैद २३ करोड २७ लाख ५८ हजार जरिवाना भै फैसला भइसकेकोले मुलुकी अपराध संहिता २०७४को दफा ४४ बमोजिम पछिल्लोपटक गरेको कसुरमा हुने सजायको दोब्बर सजायसमेत मागदाबी लिई जिल्ला अदालत काठमाडौंमा लिखतसम्बन्धी कसुरको मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।

यसअघि नै पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोमा कारागारमा छन् । सार्वजनिक सम्पत्तिको हानि(नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार सात रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

प्रतिकृया