• 4:55 am

इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही दिएर आतिथ्य सत्कार

प्रकाशित मिति

२०८१ बैशाख २४ गते, सोमबार ०३:२२

वैशाख २४, २०८१ काठमाडौँ: चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ । गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए । उनले भने, ‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिंक्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रवद्धन गर्न सकिन्छ भनेर हामीले सो काम गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।’

अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए । गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक, स्प्राइटलगायतका कोल्ड ड्रिंक्स निषेध गरेको हो । अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए ।

प्रतिकृया