• 8:05 pm

गृहमन्त्री रवि लामिछाने आज निर्वाचन आयोग जाँदै

प्रकाशित मिति

April 5, 2024

चैत्र २३, २०८० काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्वाचनसम्बन्धी कानून परिमार्जनमा उत्साहित देखिएका छन् । निर्वाचन आयोगका पदाधिकारीले लामिछानेलाई भेटेर निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याएपछि लामिछानेले संसदको यसै अधिवेशनबाट नयाँ कानून बनाउने बताएका छन् ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन कानूनसम्बन्धी मस्यौदाबारे ब्रिफिङ लिन शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा जाने भएका छन् ।

आयोगका पदाधिकारीले यसैसाता गृहमन्त्री लामिछानेलाई भेटेर कानून संशोधनमा सरकारले तदारुकता देखाउनुपर्ने बताएका थिए । स्रोतले खबरहबसँग भन्यो, ‘सो भेटपछि गृहमन्त्रीज्यूले निर्वाचन आयोगमै आउँछु भन्नुभयो, आज दिउँसो प्रमुख निर्वाचन आयुक्तज्यूले कानूनी सुधार गर्नुपर्ने विषयहरुबारे प्रस्तुतीकरण गर्ने कार्यक्रम तय भएको छ ।’

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममै निर्वाचन सम्बन्धी कानूनहरुलाई परिमार्जन गर्ने प्रतिवद्धता जनाएको थियो । त्यसलगत्तै आयोगका पदाधिकारीले नयाँ वर्षको बजेट नआउँदै ०८० साल असार १८ गते मस्यौदा तयार पारेर साउन १८ गते सरकारलाई विधेयकको मस्यौदा पेश गरेको थियो ।

मन्त्रिपरिषदले ०७८ पुस १४ गते विधेयकमा सैद्धान्तिक स्वीकृति दिएपछि आयोगले सातै प्रदेशबाट सुझाव संकलन गरेर विधेयकको मस्यौदा तयार पारेको थियो ।

त्यसयता सरकारले एकपटक आयोगका अधिकारीसँग छलफल गरेको थियो । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेतको टोलीसँग भएको सो छलफलमा सरकारको तर्फबाट केही ‘कन्सर्न’हरु राखिएको र आयोगले त्यसको जवाफ दिएको एक पदाधिकारीले खबरहबलाई बताए ।

प्रतिकृया