• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

नेपाल सुशासन पार्टीसहित तीन दलबीच एकीकरण, नेपाललाई समवादमा पर्याउने लक्ष्य

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ०४:५०

चैत्र १८, २०८० काठमाडौँ: नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरण भएको छ । तीन पार्टीबीच एकीकरण भएर राष्ट्रिय मातृभूमि पार्टी बनेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत पार्टी एकता भएको जानकारी गराइएको हो ।

National Life

गत फागुन २३ गते निर्वाचन आयोगले तीन दल मिलेर नयाँ दल दर्ता भएको प्रमाणपत्र दिएको छ । जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको बताइएको छ । त्यस्तै, पार्टीको लक्ष्य जनकल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने, राष्ट्रिय सद्भाव र एकता अक्षुण्ण राख्ने, विद्यमान आर्थिक एवम् अन्य असमानताको अन्त्य गर्न सबै नागरिकमा समान अवसर र पहुँच पुयाई समवादमा पुग्ने रहेको छ ।

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र, उन्नतिशील, समृद्ध एवम् समन्यायिक बनाउने र सार्वभौमिक समानता एवम् पञ्चशीलका आधारमा अन्तरराष्ट्रिय सम्बन्ध कायम गरी विश्वमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने पार्टीको उद्देश्य रहेको छ । साथै, राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ । पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेले देशमा विकृति र भ्रष्टाचार बढेको बताए । उनले देशमा जतिपनि भइरहेका नराम्रा कामको कारक तत्व राजनीति देखिएकाले आफूहरु सशक्त रुपमा आएको बताए । अहिलेका राजनीतिक दलहरुले सही विचार लिएर राजनीतिमा आएको नदेखिएकाले यस्ता समस्यालाई सम्बोधन गर्न आफूहरु राजनीतिमा होमिएको उनको भनाइ छ । राष्ट्रिय मातृभूमि पार्टी भाषण र जुलुसमा नलागेर गाउँ–गाउँ पुगेर कृषि उत्पादन अभियानमा सघाउ पुर्याउने र जनतालाई सुशिक्षित गराउने उनको दाबी छ ।

वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले नयाँको नाममा उदाएको दलहरुले केही काम गर्न नसकेको बताए । उनले नयाँ दलहरुलाई फ्याराको संज्ञा दिए । राष्ट्रिय मातृभूमि पार्टी देशभक्त दलको रुपमा स्थापित हुने उनको दाबी छ ।

भ्रष्टाचार विरोधी अभियन्ता रमेश खरेलले राष्ट्रिय मातृभूमि पार्टीका नेताहरुलाई स्वच्छ मनले देशको उद्दार गर्न आग्रह गरे । राष्ट्रिय मातृभूमि पाटीमा आफू आवद्ध नरहेको पनि उनले प्रष्ट पारे । उनले आफू अहिले भ्रष्टाचार विराधी अभियानमा रहेको जानकारी गराए । ‘म अहिले एन्टी करप्सन नेटवर्कमा छु । कुनै पार्टीमा पनि छैन । हिजोको दिनमा यो देशमा भएको विकृति, विसंगति र भ्रष्टाचारको विरुद्धमा एक भएर उभिन पर्छ भनेर नेपाल सुशासन पार्टी खडा गरेका थियौं,’– उनले भने ।

आफूले काठमाडौं–१ र बारा–२ बाट चुनाव लडेर हार व्यहोरेको स्मरण गराउँदै उनले हारबाट आत्तिन नहुने बताए । उनले हार र जीतका प्रवाह नगरी देशको सर्वोत्तम हित सोच्न राष्ट्रिय मातृभूमि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले सुशासन पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सकिएन राजीनामा दिन्छु भनेर निर्वाचन पहिले नै भनेको बताए । सोही वाचाअनुसार पार्टीबाट राजीनामा दिएर अहिले कुनै पनि पार्टीमा नरहेको बताए ।

जनता जनार्दन हुन नसकेसम्म नेपालमा ठगहरुले शासन गरिरहने उनको बुझाइ छ । अहिले देशमा ठगतन्त्र मौलाएको उनले बताए । अहिले सत्तामा गएकाहरुको काम ठग्नेबाहेक अर्को केही पनि नरहेको उनको टिप्पणी छ । ‘अहिले जतिपनि सत्तामा गएका छन्, उनीहरुको काम ठग्नेबाहेक केही पनि छैन । राष्ट्रिय मातृभूमि पार्टीका नेताहरुलाई स्वच्छ मनले देशको उद्दार गर्न आग्रह गरे । राम्रा–राम्रा मानिसहरुको समूह बनाएर अगाडि बढ्न र जनतालाई जनार्दन बनाउन उनले सुझाव दिए,’– उनले भने ।

कार्यक्रममा राष्ट्रिय मातृभूमि पार्टीका उपमहासचिव लक्ष्मीदत्त भट्ट, उपाध्यक्षहरु, राजकुमार यादव, टुलराज बस्याल, अनिता श्रेष्ठ रामकृष्ण ढकाल, महासचिव गोविन्द गिरी, सचिवहरु यज्ञराज बस्याल, खगेन्द्र बस्नेत, मनिराम लामिछाने, इन्द्रनारायण न्हुँच्छे, तेजेन्द्रकुमार प्रसाईँ, सहसचिवहरु रामकुमार राई, लक्ष्मण फुँयाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया