• १४ जेष्ठ २०८१, सोमबार
  • 1:20 am

विकास निर्माणको प्रक्रियामा पार्टीगत रुपमा नभई जनप्रतिनिधिको रुपमा कार्य गर्ने थापाको प्रतिबद्धता

प्रकाशित मिति

१६ चैत्र २०८०, शुक्रबार १३:३३

चैत्र १६, २०८० काठमाडौँ: भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । दल बाट उम्मेदवार भएपनि निर्वाचित भएपछि जनताको साझा जनप्रतिनिधि भइने भन्दै उनले जनप्रतिनिधिले जनताको आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बुधवार बोडेमा सम्बोधन गर्दै सांसद थापाले मध्यपुरमा पनि गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको आवश्यकताको आधारमा काम गर्न सुझाव दिए ।

मध्यपुर नगरपालिकाको स्थापना गर्दा नामको पनि निकै खोजी भएको थियो । मध्यपुर सबै नगरको बीचमा रहेको भएर राखिएकाे बताउँदै तत्कालिन २०५३ साल चैत्र १४ गते नगरपालिका स्थापना भएको स्मरण गर्नुभयो । नगरपालिका स्थापना भएर मात्र नगररवासी नहुने उललेख गर्दै आश्वयक आधारभूत कुराहरु जस्तै खानेपानी, बिजुली, ढल, विद्यालय, कलेज, अस्पताल, अरु विभिन्न संस्थाहरु रहनन आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले सरकार गठनका लागि गठबन्धन बन्ने र भत्किने क्रम चलिरहने बताउदै आफू भने ईमान्दार पूवर्क जनतालाई गरेको बाचा बाट बिचलित नबन्ने बताए । उनले सांसद विकास निर्माणमा समन्वय कर्ता मात्र हुने बताउदै स्थानीय तहलाई बिकास निर्माणमा बढी क्रियाशिल बनाएर काम गर्नुपर्ने जिकिर गरे । भौतिक बिकास निर्माण संगै सामाजिक बिकासका क्षेत्रमा पनि मध्यपुरले प्रगती गरेकोप्रति सन्तोष व्यक्त गर्दै सांसद थापाले बिकास भन्ने कुरा कहिल्यै नसकिने भएकोले निरन्तर रचनात्मक रही जनसेवामा जागिरहन नगरपालिकालाई प्रेरित गरेका छन् ।

कार्यक्रममा जिसस प्रमुख ईश्वरबहादुर थापाले भक्तपुरमा ४ वटा मात्र नगरपालिका भएतापनि समन्वयमा समस्या भएकोको सार्वजनिक गरेका छन् । ४ नगर मध्ये सूर्यविनायक र भक्तपुरले जिससको अस्तित्व स्वीकार गर्न नसकेका उनले गुनासो गरे । मध्यपुर थिमी प्रति भने उनले सन्तोष व्यक्त गर्दै स्थानीय तहको पारदर्शीता स्वमूल्यांकनमा मध्यपुर थिमी उत्कृष्ट नगरपालिका घोष्ट भएको प्रति प्रशंसा पनि प्रकट गरे ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो दुई वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, सहकारी, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरेका कार्यको विस्तृत विवरण प्रस्तुत गर्दै नगरपालिकामा सुशासन कायम गरी पारदर्शी ढंगले सेवा प्रवाहमा जोड दिएको बताए । “यो दुई वर्षमा दुई दर्जन ऐन कानुन, कार्यविधि र निर्देशिका तयार गरी लागू गरेका छौं । यसले नागरिकले असल सुशासनको अनुभुती प्राप्त गर्ने विश्वास लिएको छु,” उनले भने ।

स्थापना दिवसकै अवसरमा मध्यपुर थिमिले नगरका ज्येष्ठ नागरिकहरु मध्ये प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी १८ जनालाई पनि सम्मान गरेको थियो । कार्यक्रममा दिगुटोलबाट महाकाली नाच, विनायक शिक्षा निकेतनका छात्रछात्राले शास्त्रीय नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिकृया