• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:20 am

माओवादी उपाध्यक्ष महरालाई हाजिरी जमानीमा छाडियो

प्रकाशित मिति

९ चैत्र २०८०, शुक्रबार १३:५४

चैत्र ९, २०८० काठमाडौँ: सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको बताए । ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हाजिरी जमानीमा छाडिएको हो । निजलाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी छोराको जिम्मा लगाई छाडिएको छ,’ सहन्यायाधिवक्ता श्रेष्ठले भने ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया