• 4:17 am

एमालेको ७ मन्त्रालयमा दाबी

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ११:०५

फागुन २२, २०८० काठमाडौँ: नेकपा एमालेले ७ मन्त्रालयमा दाबी गरेको छ। एमालेबाट ०७९ पुस ११ गतेबाट बनेको सरकारमा ५ मन्त्रीहरू थिए । सात दलीय गठबन्धन भएको त्यो बेला राप्रपा पनि सरकारमा सहभागी थियो ।

तर अहिले राप्रपा सरकारमा छैन । सोमबार बनेको नयाँ गठबन्धनमा ४ दल सहभागी छन् । तर लोसपा र एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयत्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् ।

पुस ११ मा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री थिए । यस्तै परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी, महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका थिए ।

हाल एमालेले थप २ मन्त्रालय दाबी गरेको छ । एमाले स्रोतले भन्यो, ‘हामी २ मन्त्रालय नथपिएपनि पहिलेको भन्दा १ भने अवश्य थप्ने छौँ ।’ सोमबार बनेको नयाँ गठबन्धनमा एमालेबाट पदम गिरी विना विभागीय मन्त्री बनेका छन् । यस्तै एमाले पुनः पुस ११ को जस्तै विष्णु पौडेको नेतृत्वमा सरकारमा जाने स्रोतको भनाइ छ ।

यसका लागि मंगलबार ओलीले पार्टीका विभिन्न नेतासँग छलफल गरेका थिए । त्यसपछि उनले पदम गिरीलाई भेटेर छिटै मन्त्रालय र अन्य मन्त्रीहरूको पनि टुङ्गो लाग्ने बताएका छन् ।

गृहमा रवि लामिछानेले अडान नछोडेपछि एमालेले अर्थ लिने भन्ने चर्चा पनि छ । तर प्रचण्डले अर्थमा नारायणकाजी श्रेष्ठलाई पठाउने योजनामा छन् । यसो हुँदा विष्णु पौडेलले कुन मन्त्रालय पाउँछन् भन्ने निर्णय भएको छैन ।

एमाले उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘मिलाउँदै छौँ । पार्टीको आकारका आधारमा मन्त्रालय टुङ्गिन्छ । आजै पनि निधो लाग्न सक्छ ।’

प्रतिकृया