• १२ असोज २०८३, सोमबार
  • १०ः४२ राती

राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको २३४औँ जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईंदै

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ११:०५

सुबास कुँवर
१७ माघ, २०७९, काठमाडौँ :
राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको २३४औँ जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईंदै छ । आज काठमाडौको टेकु स्थित राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको २३४ औं जन्मजयन्तीको अवसरमा कुँवर समाज नेपालका प्रतिनिधिहरूको उपस्थितिमा कुँवरको सालिकमा माल्यार्पण गरि सम्झना गरियो ।

National Life

वीर बलभद्र कुँबरको जन्मजयन्तीको अवसरमा देशभरि नै छरिएर रहेका कुँवरहरुले उहाँको सम्झनामा विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । नेपाल आमाका वीर सपूत तथा नालापानी युद्धका नायक हाम्रा राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको जन्म वि.स. १८४६ माघको १७ गते तथा इ .स. १७९० जनवरी ३० का दिन काठमाण्डौँको प्याफल टोलमा बुवा चन्द्र वीर कुँवर र आमा अम्बिका देवी कुँवरको कोखबाट भएको थियो ।

बलभद्र कुँवरको बाल्यकाल काठमाण्डौँ भक्तपुको इछाला टोल हुँदै पछि पूर्व १ नम्वर काभ्रेपलानञ्चोकको भमरकोटमै लामो समय बिताउनु परेको थियो । बाबु चन्दकुँवार नेपाली सेनाको सिहनाथ पल्टनको सेनापति भएकाले पूर्व नाकाको सुरक्षा गर्न भमरकोटमा छाउनी खडा गरि बसेका थिए । काठमाण्डौदेखि भमरकोटमा जाँदा बलभद्र कुँवरको उमेर १२ र १३ बर्षको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

वि.स १८६३ मा सेनामा भर्ना भएर वि.स १८७९ साल चैत्र ३ गते अफगानिस्तानको पेसावार पाटको हसन नदी किनारमा पँजाबको गोर्खाली सेना र अफन विद्रोही बीच घमासान युद्धमा अदम्य सहास र बहादुरी पुर्वक लडिरहेका बेला विद्रोही सेनाले निशाना लगाई हानेको गोलीले दुर्भाग्यवश सेनापति वीर बलभद्र कुँवरको छाती छेड्यो । तत्काल उनले रणभूमिमा नै विरगती प्राप्त गरे । उहाँको सहास र बहादुरीलाइ देखेर दुश्मनले पनि सम्मानित गरेका थिए र नेपाल सरकारले पनि राष्ट्रिय विभूति पदले सम्मानित गरेको थियो ।

इतिहासको स्मरण

सन् १८१४ को अक्टोबर ३० र ३१ को दिन नेपाली र अंग्रेज फौजबीच नालापानी खलङ्गामा भीषण लडाईं भएको थियो । नेपाली फौजले उच्च रणकौशलताका लागि यो पहाडी भूभाग रोजेको थियो । रणनीतिक रुपमा यो भू–भाग यसकारणले पनि महत्वपूर्ण थियो कि एकातिर प्रकृतिले दिएको पहरे बनोट, अर्कोतिर दुश्मनलाई निकै टाढासम्म देख्न सकिने भूगोल अवस्थित थियो । नेपाली सेनाको यही युद्ध कौशल रणनीतिका कारण नालापानीमा किल्ला खडा भयो । त्यसो त, सामारिक महत्व राख्ने नेपालका सबै पुराना गढी र कोतहरु पनि यस्तै भौगोलिक फोर्टिफिकेसनमा रहेको पाइन्छ जसले नेपालको आफ्नै खाले युद्धकला र सामरिक रणनीतिको प्रतिनिधित्व गर्छ । भारतीय र ब्रिटीस सेना समेतले यस्तो खाले फोर्टिफिकेशनलाई आज पनि उदाहरणको रुपमा लिने गर्छन् ।

आज भन्दा ८ र १० पुस्ता अघिको नेतृत्व कप्तान बलभद्र कुँवरले गरेको युद्धमा हाम्रा वीर योद्धाहरु नालापानीमा अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित अंग्रेज (इष्ट इन्डिया कम्पनी, बृटिश साम्राज्यवादको एक अंश) सँग वीरतापूर्वक तरिकाले लडेका थिए । अंग्रेजका लागि देहरादुन, श्रीनगर, कुमाउँ, गढवालमाथि कब्जा जमाउन नालापानीमाथि विजय पाउनु अनिवार्य थियो । अक्टोबर ३० को रातिदेखि अक्टोबर ३१ सम्म अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशलता, सहास, वीरता, सौर्य, पराक्रम साथ भाला, खकुरी, खुँडा, तरवार र भरुवा बन्दुकले प्रतिरोध गर्यो । अंग्रेज विरुद्धको त्यो प्रतिरोध गरेको युद्ध विश्वको युद्ध इतिहासमा सबैभन्दा बहादुरीको उत्कृष्ट नमूना रहेको थियो । युद्धमा अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी, केसीबीको मृत्यु भएको थियो ।

युद्धमा अंग्रेजले ३१ अफिसर्स र ७५० सेनालाई गुमायो भने ३५ अफिसर्स र १५ सय भन्दा बढी अंग्रेज सेना घाइते भएका थिए । नेपाली फौजतर्फ पनि करिब ३०० जतिको मृत्यु भएको थियो भने २ सय घाइते भएको अनुमान गरिएको छ । इष्ट इन्डिया कम्पनीले आफ्ना सबैभन्दा सुयोग्य कमाण्डर जिलेस्पीलाई गुमाउँदा मर्माहत भएको थियो । जबकी जिलेस्पीले अन्य सबै युद्धमा विजय प्राप्त गर्दै आएका थिए । अंग्रेजले युद्धको नियम उल्लंघन गर्दै एकपक्षीय रुपमा युद्धको घोषणा गरेको थियो, प्रतिक्रियामा बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले युद्धको नियमलाई पालना गर्दै जिलेस्पीको मृत शरीरलाई ससम्मान अंग्रेज फौजलाई हस्तान्तरण गरेको थियो । नेपाली फौजको यो महानतालाई अंग्रेज इतिहासकार फ्रिन्सेपले ‘युद्धमा मारिएका दुश्मनको लास लैजान दिएर नेपाली फौजले जुन विरोचित उदारता देखाएका थिए त्यो अंग्रेजका निम्ति नितान्त नवीन र आश्चर्योत्पादक थियो’ भनेर लेखेका छन् ।

मेजर जनरल जिलेस्पीको मृत्युपछि छटपटाएको अंग्रेजले पुनः नयाँ रणनीतिका साथ नालापानीमाथि आक्रमण गर्यो । जिलेस्पीको मृत्युपछि मर्माहत भएको अंग्रेजले पछिल्लो पटक युद्ध नियमको पालना गरेन । जिलेस्पी मारिएको झण्डै एकमहिना पछि नोभेम्बर २७ देखि २९ सम्म पुनः बमबार्डिङ गर्दै नालापानी किल्ला कब्जाको लागि अघि बढेको अंग्रेजले किल्लामा जाने पानीको मुहान पत्ता लगाएर भत्काइदियो । पानी खान नपाएर व्याकुल भए पनि, निरन्तर युद्धमा संलग्न भएर नेपाली फौजले फेरि एकपटक वीरतापूर्वक लडाईं लड्यो ।

नेपाली फौजमा नियमित फौज मात्र नभै महिला, केटाकेटीले समेत अदम्य सहास र वीरता देखाए, जुन वीरता देखेर दुश्मन अंग्रेज सेना समेत छक्क परेको थियो । अन्त्यमा, किल्लाभित्रको कमजोर अवस्था, निरन्तर थकित सेना र घाइते सेनाको छटपटाहटका बीच किल्ला छोड्ने निर्णयमा पुगेको थियो नेपाली फौज । कमाण्डर बलभद्र कुँवरले आफुसँग वचेका झण्डै ७० जना सेनाका साथ अंग्रेज फौजकै अगाडिबाट नाङ्गो खुकुरी नचाउँदै किल्लाबाट बाहिरिएको घटनालाई अंग्रेज स्वयंले मुक्त कण्ठले प्रशंसा गर्न बाध्य भएका थिए ।

यसैले त अंग्रेजले आफ्ना मृत सेनापतिको सम्झनामा स्मारक बनाउँदै गर्दा उनकै दुश्मन नेपाली सेनाका कमाण्डर बलभद्र कुँवरको पनि स्मरण गर्न भने चुकेनन् । संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो ।

नेपाली फौजको वीरता र सहासका सामू अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ । भौतिक रुपमा पराजित भए पनि नेपाली फौजको अदम्य सहास, पराक्रम र सौर्यलाई अंग्रेजहरुले विश्लेषण गरेका कारण उनीहरुले जनरल जिलेस्पीकै हैसियतमा उनीसरह सम्मान दिएर बलभद्र कुँंवरको समेत स्मारक बनाए । र, त्यहाँ उनीहरुले लेखे, ‘किल्लाका कमाण्डर हाम्रा वीर शत्रु बलभद्र र उनका पराक्रमी गोर्खाहरुको सम्मानमा‘ ।

देहरादुनको पूर्वीभूभास्थित सहस्रधारा रोडसँगै जोडिएको एउटा बगैंचाभित्र अहिले पनि ती दुई स्मारक ठडिएका छन् । नालापानी किल्ला नजिकै बनेका यी स्मारकले दुईसय वर्ष अघिको युद्ध इतिहासलाई जीवित राख्न सफल भएका छन् । आज पनि यो स्मारक क्षेत्रलाई भारतीय पुरातत्व विभागले संरक्षित गरेको छ ।

नालापानी किल्ला यसकारणले महत्वपूर्ण छ कि यो किल्लाको नेतृत्व तत्कालिन नेपाली सेनाअन्तर्गत पुरानो गोरख गणले सम्हालेको थियो । यस किल्लाको प्रमुख रक्षक पल्टन ‘पुरानो गोरख गण’ नेपाली सेनाभित्रको मगर पल्टन थियो । संसारलाई हल्लाउन सक्ने गोर्खा जातिको इतिहासभित्र पुरानो गोरख गणको भूमिका महत्वपूर्ण रहेको छ ।

अंग्रेजले नालापानी किल्लाभित्र गोरख गणका सेनाको अविश्वसनीय लडाईंबाटै प्रभावित भएर नेपाली जातिलाई आफ्नो पक्षमा पार्नका लागि कुटनीतिक चातुर्यता देखाएका थिए । गोर्खाली शब्द यही किल्लाबाट उत्पत्ति भएको कुरा अंग्रेज सेनानायक फ्रेजरले आफ्नो युद्ध डायरीमा लेखेका छन् । यही युद्ध पछि गोर्खा फौजको स्थापना भएको थियो । पहिले नेपाली फौजले अंग्रेजहरुबाट अब गोर्खालीको नाममा नयाँ पहिचान भयो कालान्तारमा गोर्खाको नाममा गोर्खाभर्ती केन्द्रको स्थापना हुनपुग्यो ।

नालापानीको अहिलेको अवस्था

नालापानी खलङ्गालाई जोगाउन देहरादुनमा बलभद्र खलङ्गा विकास समिति क्रियाशिल छ । स्थापना भएको धेरै वर्ष भएपनि सुरुमा त भारतीयहरुले नेपालीभाषीलाई हेर्ने दृष्टिदोषका कारण समितिले केही काम गर्न नसकेको देखिन्छ । तर, ९० को दशकमा भारतमा सुरु भएको नेपाली भाषा आन्दोलन पछि र उत्तराखण्ड उत्तरप्रदेशबाट छुट्टै राज्य बनेपछि भने नालापानी खलङ्गा विकासका लागि केही कामका प्रयत्नहरु भएका छन् ।

भारतको वन विभागअन्तर्गत रहेको नालापानी किल्ला धेरै पछि र धेरै प्रयत्नपछि मात्र संस्कृति विभागअन्तर्गत ल्याउन सकिएको अनुभव छ बलभद्र खलङ्गा विकास समितिका अध्यक्ष रामसिंह थापाको । केन्द्रीय सरकारसँग धेरैपटक लविङ गरेपछि संस्कृति विभागमा नालापानी खलङ्गाको स्वामित्व हस्तान्तरण भएको थियो । अहिले यो ठाउँमा युद्ध स्मारक बनाइएको छ । स्मारक र त्यस वरिपरि पर्खाल लगाउने काम मात्र भएको छ, यसको संरक्षण र एकीकृत विकास गर्न भने अझै धेरै बाँकी देखिन्छ ।

पहुँच भएका तिब्बती शरणार्थीहरु नालापानी नजिकै आएर मुकाम खडा गरेर बसेका छन् । नालापानीले चर्चेको वन क्षेत्रमध्ये धेरैजसो भू–भागमा त तिब्बती झण्डा फहराएको देखिन्छ । तर, तिनै तिब्बती शरणार्थी क्याम्पकै बाटो हुँदै नालापानी खलङ्गाको मुख्य ठाँउमा पुग्नलाई बल्लतल्ल बाटो पुगेको छ । ‘एक त आवश्यक बजेट हुँदैन, राज्य सरकारले छुट्टाएको बजेट पनि किस्ता किस्ता सानो रकममा मात्र निकासा हुन्छ, त्यसैले संरक्षण र विकासका थप काम गर्न समस्या परेको’, खलङ्गा विकास समिति अध्यक्ष रामसिंह थापा भन्छन् ।

नालापानी पर्वतको टाकुरामा गोर्खाली चिनोको रुपमा बलभद्र खलङ्गा युद्ध स्मारक बनाइएको छ । यही स्मारक बनाउन पनि धेरै नै पापड बेल्नुपरेको अनुभव छ, बलभद्र अध्यक्ष रामसिंह थापा र उनको गोर्खाली टिमसँग । सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो युद्ध स्मारकभन्दा करीब तीन किलोमिटर टाढा युद्धक्षेत्रमै यो नयाँ स्मारक बनको छ । केही तल रहेको सागरतालमा अहिले पनि युद्धको सम्झना गरिन्छ, जहाँ गोर्खाली समुदायले अहिले पनि खलंगा मेला भर्नेगर्छन् ।

तर, सोचेअनुसार काम नहुँदा र कामका लागि आवश्यक सहयोग प्राप्त नहुँदा नेपाली सेनाले बनाएको किल्लाको उत्खनन् भएको छैन । पुरातात्विक महत्वका वस्तुहरुको खोजविन हुन, उत्खनन हुन र युद्ध क्षेत्रको घोषणा हुन बाँकी रहेको बताउँछन्, सिक्किमबाट देहरादुन पुगेर खलङ्गा विकासका लागि पहल गरेका पीएस शेर्पा ।

दिल्लीस्थित कांग्रेस आईको केन्द्रीय कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका शेर्पा भारतीय गोर्खाली समुदाय र विश्वभर छरिएका नेपाली एवं गोर्खालीका लागि नालापानी किल्ला गर्व गर्ने ऐतिहासिक सम्पदा भएको कारण यसको थप संरक्षण गर्नुपर्ने बताउँछन् ।

नालापानीका लागि नेपाली पहल

यो लगभग २०३ वर्ष अघिको घटना हो । तर, नालापानीले नेपालीलाईं सधैंभर झक्झकाइरहन्छ । एउटा पराक्रमी युद्धमोर्चाको सम्झना गराइरहन्छ । यसकारणले नालापानी नेपालका लागि छुटाउनै नहुने तीर्थस्थल हो । नालापानी भारतमा बसोबास गर्ने दशौं लाख नेपालीभाषी गोर्खालीका लागि पवित्रस्थल हो, इतिहासको सम्झना गराउने थलो हो । बिडम्बना नै भन्नुपर्छ मुलभूमि नेपालले नालापानीलाई सम्झिन सकेन । वीरताको चिनोलाई नेपालले चिन्न सकेन । विशाल नेपालका लागि वीर योद्धाहरुको वलिदानलाई काठमाडौंको केन्द्रीय सत्ताले सम्मान गर्न सकेन । आज नालापानी छिमेकी भारतको एक भौगोलिक अंग भए पनि नालापानीभित्रको नेपाली अपनत्व एवं समाजशास्त्रीय मनोविज्ञानलाई जोगाइराख्न नेपालले भारतसँग आग्रह गर्न समेत सकेन ।

बरु, नालापानी खलङ्गालाई जोगाउन भारतमै बसोबास गर्ने नेपाली भाषि गोरखाली समुदायले केही पहल गरेका छन् । ती गोरखालीहरु जसका पुर्खा त नेपाल राज्य विस्तारका लागि लडेका थिए, ती नेपालीभाषी गोरखालीहरु, जसका पुर्खाले कुनै समय आफ्नै दुश्मन फौज अंग्रेज फौजसँग लडेता पनि कालान्तरमा अंग्रेजका लागि समेत लड्न पुगे र अहिले भारतीय सेनामा समेत माथिल्लो दर्जामा पुग्न सफल भएका छन् । गर्व गर्छन् उनीहरु, नालापानी खलङ्गाप्रति । यो अर्को अनौठो संयोग भएको छ, गोरखाली जातिका लागि, नेपाली रगत मिसीएको सन्ततिका लागि ।

‘नेपालका लागि नालापानी खलङ्गा ऐतिहासिक महत्वको ठाउँ हो, तर, खलङ्गा विकासका लागि नेपालबाट कुनै पहल नभएको देख्दा हामी नेपालीभाषी गोरखाली दुखित छौं’, खलङ्गा विकास समितिका अध्यक्ष रामसिंह थापाले गुनासो गरेका छन् । गुनासो गर्ने ठाउँभने प्रशस्तै छन् । नेपालबाट नालापानीलाई इतिहासका पुस्तकमा सम्झेर सामान्यज्ञानको जानकारी दिनेबाहेक अरु कुनै पहलकदमी भएको छैन ।

विश्वका धेरै देशहरुले त्यस्ता ऐतिहासिक स्थलको संरक्षणका लागि पहल गर्दैआएका छन् । भुगोल आफ्नो देशको नभए पनि सरकारीस्तरमा भएका लविङबाट अर्को देशको भुगोलभित्रका कतिपय ऐतिहासिक स्थानको सम्वद्र्धन र विकास गरिएका उदाहरण बाँकी विश्वका धेरै देशमा पाइन्छ ।

तर, अंग्रेजसँग सुगौली सन्धीबाट शिर निहुराएको नेपालको शासकवर्गले भारतीय शासकवर्गसँग समेत कहिल्यै शिर ठाडो पारेर कुरा राख्न समेत हैसियत बनाएन । नालापानीमा वैरीका सामु वीर सपुतहरुले शिर झुक्न दिएनन्, तर काठमाडौंले तिनीहरुलाई सम्झन समेत लायक मानेन ।

नालापानीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकपटक व्यक्तिगत तवरमा घुम्न पुगेका रहेछन् । उनी केही कार्यकर्ताको साथ किल्लामा पुगे, फर्किए । काठमाडौं आएपछि शुन्य । भारतका लागि तत्कालिन राजदूत भेषबहादुर थापा र कार्यबहाक राजदूत खुशनारायण श्रेष्ठ पनि खलङ्गा पुगेका छन् ।

अरु कोही नेता र सरकारी अधिकारी नालापानी पुगेको कुनै रेकर्ड छैन खलङ्गा विकास समितिसँग । केही दिन अघि देहरादुन पुगेका वर्तमान कार्यबहाक राजदूत कृष्णप्रसाद ढकालले ‘आफुले नालापानीको विकास, संरक्षण र यसलाई ऐतिहासिक पर्यटकीयस्थल बनाउनका लागि लागि नेपालबाट केही गर्न सक्ने अवस्थाको खोजी गर्ने’ बताएका थिए ।

प्रतिकृया