• 12:36 pm

यू-१९ विश्वकप : आज सुपर सिक्सका तीन खेल, बुधबार नेपालको प्रतिस्पर्धा बंगलादेशसँग

प्रकाशित मिति

२०८० माघ १६ गते, मंगलवार ०८:५६

माघ १६, २०८० काठमाडौँ: दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन् । पहिलो दिन तीन खेल हुँदैछन् । पहिलो दिन भारत-न्युजिल्याण्ड, श्रीलंका-वेस्ट इन्डिस, आयरल्याण्ड-पाकिस्तान गरेर तीन खेलमा प्रतिस्पर्धा हुँदैछ ।

नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। यो खेल भोलि (बुधबार) दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिए नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

दुई सुपर सिक्सका शीर्ष दुईदुई टिम विश्वकपको सेमिफाइनल प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंकसमेत गणना हुने प्रावधान छ । अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ । बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।

यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ । यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। अहिले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नेपालका लागि उपलब्धि मानिएको छ ।

प्रतिकृया