• 8:34 am

यू-१९ विश्वकप : नेपाली टिममा तीन परिवर्तन

प्रकाशित मिति

२०८० माघ १० गते, बुधबार ०२:१९

माघ १०, २०८० काठमाडौँ: आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’ र तिलक भण्डारी आजको टिममा छैनन्। आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ ।

नेपाली टिम : अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम मगर (विकेटकिपर), गुलसन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता । पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो । यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो। यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो ।

सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो। सो विश्वकपमा यो नतिजालाई प्रतियोगिताकै सनसनीपूर्ण मानिएको थियो । सन् २०१६ को विश्वकपमा भने पाकिस्तानले नेपाललाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतिकृया